राप्तीमा स्वास्थ्य तथा पोषण सुधारबारे अन्तरक्रिया

तुल बहादुर कवँर मगर
मसुरिया, १० मंसिर ।
दाङको राप्ती गाउँपालिकामा विद्यालय, स्वास्थ्य तथा पोषण कार्यक्रमको सुदृढीकरणका लागि सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहल मसुरियामा राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत अन्तरक्रिया गरिएको हो। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता थियो।

कार्यक्रममा बोल्दै प्रवक्ता चौधरीले मानव पुँजीको विकास भएमा मात्रै अन्य विकासका प्रयासले सार्थकता पाउने बताउनुभयो। स्वास्थ्य र शिक्षा एकअर्काका परिपूरक क्षेत्र भएकाले बालबालिकाको समग्र विकासका लागि दुवै क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।

पोषण सुधारका लागि सरकार, विद्यालय, स्वास्थ्य संस्था, अभिभावक र समुदाय सबैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सीमित स्रोतसाधनका कारण अपेक्षाअनुसारका सबै कार्यक्रम सञ्चालन गर्न चुनौती रहेको बताउनुभयो।

विभिन्न संघसंस्थासँगको साझेदारीमा पोषणमार्फत जीवन रूपान्तरणका कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले स्वास्थ्य र शिक्षा क्षेत्रबीच प्रभावकारी समन्वय तथा सहकार्य भएमा मात्रै अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो।

गाउँपालिकाले स्वास्थ्य र शिक्षालाई जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष पनि ती कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।


स्वास्थ्य जनशक्तिको अभावका कारण सबै विद्यालयमा नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न कठिनाइ भए पनि प्रत्येक वडामा स्वास्थ्य संस्था रहेकाले त्यहाँबाट सेवा लिन सकिने उहाँले बताउनुभयो। बालबालिका स्वस्थ भएमा मात्रै उनीहरूको सिकाइ र समग्र विकास प्रभावकारी हुने उल्लेख गर्दै उहाँले विद्यालय तहबाटै स्वास्थ्य तथा पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले विद्यालय स्वास्थ्य कार्यक्रम र किशोरकिशोरी पोषण कार्यक्रमको उद्देश्य, नीतिगत व्यवस्था तथा कार्यान्वयनका विषयमा प्रस्तुतीकरण गर्नुभयो।

उहाँले गाउँपालिकाको पोषण तथा स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बालबालिका र किशोरकिशोरीमा देखिने कुपोषण, पुड्कोपन, ख्याउटेपन, कम तौल तथा रक्तअल्पता न्यूनीकरणका लागि बहुक्षेत्रीय समन्वय आवश्यक रहेको बताउनुभयो।

किशोरकिशोरीको पोषण अवस्था सुधार, सन्तुलित खानपान, महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

साथै, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताका कारण बढ्दै गएका मधुमेह, उच्च रक्तचाप तथा मुटुरोगजस्ता नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न विद्यालय तहदेखि नै स्वस्थ जीवनशैलीबारे सचेतना फैलाउनुपर्ने उहाँले बताउनुभयो।

राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडीजीपी डा. सुशील केसीले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित पोषण, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली आवश्यक रहेको बताउनुभयो। विद्यालय र स्वास्थ्य संस्थाबीच समन्वय गरेर रोगको समयमै पहिचान तथा रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका पोषण फोकल पर्सन धनबहादुर बुढाक्षेत्रीले गर्नुभएको थियो।