
दाङ, १० मंसिर ।
उच्च अदालत तुलसीपुरले आफ्नै छोरीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको कसुरमा जन्मकैद फैसला सुनाएको छ । दाङ जिल्ला अदालतले आफ्नै १६ वर्षीया नाबालिक छोरीलाई हाडनातामा जबरजस्ती करणी गरी गर्भवती बनाएको कसूरमा बाबुलाई सुनाएको जन्मकैदको फैसलाको हालै उच्च अदालत तुलसीपुरले सदर गरेको हो ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश यज्ञबहादुर राना मगरको संयुक्त इजलासले जिल्ला अदालतको पूर्व फैसलालाई निरन्तरता दिएको हो ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ गैरागाउँमा भएको उक्त घटनामा प्रतिवादीले २०७९ साल पुस महिनामा अत्याधिक मदिरा सेवन गरी आफ्नै १६ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको भन्दै अदालते उक्त फैसला गरेको हो । नातिनी गर्भवती भएको शंका लागेपछि २०८० असार १५ गते मावली हजुरआमाले जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेरी दिएकी थिइन् । पीडित बालिकाले २०८० असार २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शिशुलाई जन्म दिएकी थिइन्, उक्त नवजात शिशु विरामी भएपछि २०८० असार २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । उपचारका क्रममा ति शिशुको मृत्यु भएको थियो ।
जिल्लामा स्वीकार, उच्चमा इनकारी बयान
सोही कसूरमा दाङ जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले २०८३ वैशाख १४ गते प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जन्मकैद, सातलाख जरिवाना र पीडितलाई पच्चिसहजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
प्रतिवादीले अनुसन्धानका क्रममा जिल्ला अदालतमा कसूर स्वीकार गरे पनि उच्च अदालतमा इन्कार रहँदै घरायसी रिसइवीका कारण झुट्टा मुद्दा लगाइएको दाबी गरी पुनरावेदन गरेका थिए । तर उच्च अदालतले पीडितको निरन्तर बयान, जाहेरी, कन्याजाली सम्बन्धी स्वास्थ्य परीक्षण प्रतिवेदन र विशेषज्ञ चिकित्सको बकपत्रबाट वारदात पुष्टि भएको ठहर गरेको छ । साथै, जबरजस्ती करणी एकान्तमा हुने अपराध भएकाले पीडित नै मुख्य प्रत्यक्षदर्शी हुने उल्लेख गर्दै सर्वोच्च अदालतका प्रतिपादित नजिरहरू समेतका आधारमा दाङ जिल्ला अदालतको जन्मकैद र जरिवानाको फैसला कानून र न्यायसंगत रहेको उच्च अदालतले स्पष्ट पारेको छ ।



लाइभदाङ । ११ मंसिर २०८३, बिहीबार ०६:०३ बजे