दाङका २१ जनप्रतिनिधि माधवतिर खुले

तुलसीपुर
२२ भदौ / दाङबाट २१ जनप्रतिनिधि माधव नेपालले नेतृत्व गरेको नेकपा(एकीकृत) समाजवादीमा खुलेका छन् । स्थानीय तह उपप्रमुखमा गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी रोजेकी छिन् । उनी प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीकी दिदी हुन् ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष भिमबहादुर सार्की, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष भुपबहादुर केसी, घोरही उपमहानगरपालिकाका कार्यपालिका सदस्य डिल्ली नेपाली, धनबहादुर कुसुण्डालगायत रहेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख निमराज भट्टराईले जानकारी दिए ।


त्यस्तै घोराही १२ का वडा सदस्य गिरबहादुर बिक, जिल्ला समन्वय समिति दाङका सदस्य तिला पुनलगायत रहेका छन् । त्यस्तै एमालेका स्थायी कमिटि सदस्य शंकर पोरखेलको वडा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १९ का तीनजना जनप्रतिनिधिसहित १० जनाले आईतबार सनाखत गरेका थिए । दाङमा यस अघि माधब समूहमा रहेका घोरही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने र बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले अन्ततः एमालेमै रहने निर्णय गरेका छन् । उनीहरुले एमाले भित्रै संघर्ष गर्ने भन्दै फूटलाई साथ नदिएको नयाँ पत्रिकालाई प्रतिक्रिया दिएका छन् ।

दाङमा माधव नेपाललाई साथ दिएका पार्टीका जिल्ला अध्यक्ष टिकाराम खड्काले नै न्यूटल रहेपछि धेरै जनप्रतिनिधिहरु माधबको पक्षमा खुलेनन् । दाङमा ३० वटा वडा एमालेले जितेको थियो । ति मध्ये दुई वटा वडाका अध्यक्षले मात्रै माधवको साथ रोजे ।