मोटरसाइकल र स्कुटी ठोक्किदा दुई जना घाइते

तुलसीपुर, ५ बैशाख ।
पश्चिम दाङमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा दुई घाइते भएका छन् । मंगलबार दिउँसो १२ बजेको समयमा दंगिशरण ७ बुटनिया चोकस्थित तुलसीपुरदेखि पश्चिम तर्फ जादै गरेको भे १ प ९६३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ६५५८ नम्बरको स्कुटी एकआपसमा ठोक्किदा दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।


घाइते हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–७ निवासी २६ वर्षिय विशाल पुन र स्कुटी चालक बाँके जिल्ला कोहलपुर–११ घर भई हाल दंगिशरण–७ बस्ने ३२ वर्षिया सुनिता केसी रहेका छन् ।

घाइते दुवै जना मध्य मोटरसाइकल चालकको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने स्कुटी चालक सुनिताको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात कोहलपुर रेफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।