दंगीशरणमा कृषि उत्पादन र बजार व्यवस्थापन सुदृढीकरणबारे छलफल

दंगीशरण, १४ साउन ।
स्थानीय कृषि उत्पादनलाई व्यावसायिक, दिगो र बजारमुखी बनाउँदै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ दंगीशरण गाउँपालिका र ओरेक दाङको संयुक्त आयोजनामा ‘कृषि उत्पादन तथा बजार व्यवस्थापन सुदृढीकरणका लागि स्थानीय स्तरको बजार रणनीतिक रुपरेखाको खाका’ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।

दंगीशरण गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले दंगीशरणलाई कृषि उत्पादनमा आत्मनिर्भर र बजारसँग जोडिएको पालिकाका रूपमा विकास गर्न स्थानीय सरकारले किसानमुखी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले कृषि उत्पादन वृद्धि मात्र पर्याप्त नहुने उल्लेख गर्दै उत्पादनको बजारीकरण, मूल्य अभिवृद्धि, भण्डारण तथा किसानलाई सहज बजार पहुँच सुनिश्चित गर्न सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले रासायनिक मलको अभावको दीर्घकालीन समाधानका लागि माटोको उर्वराशक्ति संरक्षण, प्राङ्गारिक मलको प्रयोग तथा जैविक खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रमकी अध्यक्ष तथा उपाध्यक्ष पीमा वली खड्काले कृषि क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, सहकारी संस्था, किसान र विकास साझेदारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको पहिचान, बजारीकरण तथा किसानको क्षमता अभिवृद्धिमार्फत दिगो कृषि प्रणाली निर्माण गर्न यस्ता छलफल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।


छलफल कार्यक्रममा ओरेक दाङका जिल्ला अध्यक्ष कल्पना चौधरी र गाउँपालिकाको कृषि शाखा प्रमुख शरु भुषालले स्थानीय कृषि उत्पादन, बजार व्यवस्थापन, रणनीतिक योजना तथा कृषि क्षेत्रका सम्भावना र चुनौतीबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा गुरुबाबा कृषि सहकारी संस्थाका बालुराम चौधरी, त्रिशक्ति कृषि सहकारी संस्थाका हेमन्त वलीलगायतले किसानले भोगिरहेका समस्या, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा कृषि क्षेत्रको दिगो विकासका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

सहभागीहरूले रासायनिक मलको अभाव न्यूनीकरणका लागि माटोको गुणस्तर सुधार, प्राङ्गारिक मलको प्रयोग प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादनको प्रभावकारी बजारीकरणका लागि स्पष्ट रणनीति र कार्ययोजना आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण ओरेक दाङकी पूजा विकले गर्नुभएको थियो।