
लमही, ३ पुस । लमही बसपार्कमा रहेको शौचालयका ठेकेदारले शौचालय प्रयोग गरेबापत प्रतिव्यक्ति १० रुपैयाँ असुल गर्दै आएको जनगुनासो आएको छ । लमही नगर विकास समितीद्वारा निर्माण गरिएको टर्मिनल भवन सञ्चालनका लागि ठेक्का आह्वान गरिएको थियो । उक्त ठेक्का लमही नगरपालिका–३ निवासी विमला डाँगीको नाममा सदर भए पनि शौचालय भने अर्कै व्यक्तिलाई पेटी ठेक्काका रूपमा दिई लामो समयदेखि सञ्चालन हुँदै आएको छ ।
टर्मिनल भवनका ठेकेदार र लमही नगर विकास समितिबीच भएका सम्झौताअनुसार शौचालय प्रयोग गर्दा पिसाब गरेको प्रतिव्यक्ति ५ रुपैयाँ र दिशा गरेको प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने व्यवस्था गरेको नगर विकास समितिले जनाएको छ। तर पेटी ठेक्कामा लिएका व्यक्तिले घाटा हुने कारण देखाउँदै शौचालय प्रयोग गरेबापत सबैबाट १० रुपैयाँ असुल गर्दै आएको यात्रुहरूको गुनासो छ ।
यात्रुहरूका अनुसार सम्झौतामा उल्लेख भएअनुसार शुल्क नलिई मनोमानी रूपमा रकम असुली गरिएको छ । शौचालय प्रयोग गर्दा लाग्ने शुल्क लेखिएको बोर्ड भए पनि ठेकेदारले कहिले स्टिकर टाँसेर त कहिले कपडाले ढाकेर शुल्क लुकाउने गरेको आरोप छ ।
यस विषयमा लमही नगर विकास समितिले सम्झौता विपरीत काम भइरहेको र पटक–पटक त्यसो नगर्न सुझाव दिँदै आए पनि ठेकेदारले अटेरी गर्दै आएको जनाएको छ । त्यस्तै अजम्मरी सामुदायिक वन समितिद्वारा संचालित सार्वजनिक शौचालयमा पनि यस्तै समस्या छ । शौचालयका ठेकेदार र सामुदायिक वनसंग पिसाब गरेको ५ रुपैयाँ र दिशा गरेको १० रुपैयाँ लिने सम्झौता छ भने ठेकेदारले १० रुपैयाँ लिदै आएका छन ।



लाइभदाङ । ३ पुष २०८२, बिहीबार ११:४१ बजे