लुम्बिनीः मैले विस्वासको मत नपाए ठूलो दलको सरकार बन्नुपर्छः मुख्यमन्त्री गिरी

दाङ,२० चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफूले विश्वासको मत नपाए संसदको ठूलो दलले मुख्यमन्त्री पाउनु पर्ने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री गिरीले अहिले १६८(२) अनुसार सरकार बनिरहेको भन्दै विश्वासको मत नपाए स्वतःधारा १६८(३) अनुसार ठूलो दलले सरकार बनाउने ब्यबस्था रहेको बताए ।

गिरीलाई समर्थन गरेका माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन् । तर, उनले अल्पमत प्रमाणित भइनसकेको बताएका छन् । उनले केही समयमा विश्वासको मत लिने र विश्वासको मत नपाए सरकारमा नबस्ने समेत बताए । चैत १२ गते माओवादी लगायतका दलले समर्थन फिर्ता लिएका थिए ।


लुम्बिनीमा ८७ सांसद मध्ये एमालेका २९ र राप्रपाका ४ सांसदको मात्रै गिरी सरकारलाई समर्थन रहन्छ । अन्य ५३ जना सांसद(सभामुख बाहेक) सरकारको विपक्षमा छन् । लुम्बिनीमा बहुमतकालागि ४४ सांसदको समर्थन चाहिन्छ । तर, एकजना स्वतन्त्रसहित ८ राजनीतिक दलका ५३ जना सांसदहरुले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई नयाँ सरकार गठनकालागि भन्दै हस्ताक्षर बुझाएका छन् ।

लुम्बिनीमा काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताब गर्दै काँग्रेसका २७, माओवादीका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसदले आईतबार दिउसो साढडे २ बजेतिर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाई सकेका छन् ।