दाङमा सवारी जाँचमा कडाई, दोब्बर कार्वाही र जरिवाना संकलन

घोराही, १६ असार ।
चालकहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी जाँचमा तिव्रता र कडाई गरेको छ । चालकहरुको लापर्वाही र अटेरीका कारण दुर्घटनाको जोखिम मात्रै नभई मानविय तथा भौतिक क्षति समेत नरोकिए पछि नियमनको पाटोलाई प्रहरीले कडाई गर्न थालेको हो ।

विभिन्न कारणले सवारी साधन दुर्घटना हुदा चालु आर्थिक बर्षमा ९३ जनाको मृत्युभएको छ । पुरुष ७४ जना, महिला १३, भने २ सय ३७ जना गम्भिर घाईते भएका छन् । १ सय १२ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस आर्थिक बर्षमा २ सय ७३ वटा सवारीका साधन दुर्घटनामा परेका छन भने सबै भन्दा धेरै मोटरसाईकलको संख्या १ सय ६९ वटा रहेको छ । यस आर्थिक बर्षमा १९ हजार ७ सय ३४ वटा सवारीका चालकलाई नियम पालना नगर्दा कार्वाहीमा परेका छन् । जसबाट १ करोड ५९ लाख ४८ हजार ७ सय २ रुपैयाँ राजस्व संकलन भएको छ ।

दुर्घटना रोक्ने उपाय
ट्राफिक प्रहरीले सवारी साधन दुर्घटनालाई न्यूनिकरणका लागि पहिलो काम जाँचलाई तिव्रता र कडाई गरेको छ । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले सबै भन्दा धेरै चालककै लापर्वाहीले गर्दा सवारी साधन दुर्घटना हुने गरेको भन्दै चालकलाई सचेत पार्ने र जरिवाना गर्ने गरिएको छ ।

गत जेठ २ गते कार्यालय प्रमुखकोरुपमा सरुवा भई आएका प्रहरी निरीक्षक शाहीले सवारी साधन दुर्घटनालाई रोक्न जाँचको कामलाई बढाईएको बताउनुभयो । दैनिक जिल्लाभरका २८ स्थानमा नियमित सवारी साधनको जाँच हुने गरेको छ । सवारी जाँचलाई बढाए पछि कार्वाहीमा पर्नेहरुको संख्यामा पनि बृद्धी भएको छ । जाँचलाई नियमित र कडाई गर्दा दुर्घटना र क्षतिमा पनि कमी आएको तथ्यांकले देखिएको छ । सरदर मासिक ८ देखि १० जनाको सवारी साधन दुर्घटनमा पनि निधन हुने गरेको थियो ।


तर जेठमा २४वटा सवारीका साधन दुर्घटनमा परेका थिए । मासिक सरदर १५ सयको हाराहारीमा सवारीका साधन कार्वाहीमा पर्ने गरेकोमा प्रहरीले जाँचलाई बढाएपछि वितेको जेष्ठ महिनामा १९ सय ३ वटा सवारीका साधन कार्वाहीमा परेको छ ।

जसबाट १९ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । चालु महिना असारमा ९ सड १८ वटा सवारीका चालक कार्वाहीमा परेका छन् । जसबाट ७ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यसरी हेर्दा प्रहरीले जाँच र निगरानीलाई बढाए पछि दोब्बर संख्यामा कार्वाहीमा पर्ने र राजस्व पनि त्यसरी नै संकलन भएको देखिएको छ । प्रहरीले पार्किङ व्यवस्थान, मोडिफाई गरेका मोटरसाईकल नियन्त्रण लिने, क्षमता अनुसार यात्रु बोक्न निर्देशन दिने, भाडा दर टाँस गर्ने लगाएतका काममा समेत चासो दिएको छ ।

दुर्घटनाका कारण
१. चालकको लापर्वाही
२. तिव्र गति
३. मादक पदार्थ सेवन
४. सडकको नाजुक अबस्था
५. यान्त्रिक गडबडी
६. गाडी चलाउदा चालकले फोन प्रयोग गर्दा
७. पैदल यात्रुले नियम पालन नगर्नु
८. क्षमता भन्दा धेरै यात्रु बोक्नु