तुलसीपुर,१४ चैत ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले विकासकालागि बजेट माग्ने तर, बजेट परेपछि विकास गर्न नदिने प्रबृतिले विकास निर्माण अबरुद्ध हुने गरेको बताएकी छन् ।
महिलावादी दृष्टिकोणबाट घटना अभिलेखिकरण तथा सम्प्रेषण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम उनले यस्तो बताईन् ।
‘पहिले बजेट चाहियो भन्नु हुन्छ, हामीले बजेट हाल्दिन्छौं’,उनले भनिन्‘तर, बजेट परेपछि कसैले जग्गा दिदैनौं भन्नु हुन्छ, कसैले केही भन्नु हुन्छ, अनि विकास रोकिन्छ ।’ अहिले उपमहानगरपालिकामा यस्ता थुप्रै विवादहरु आउने गरेको उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को आयोजना तथा ओरेक नेपालको समन्वयमा सोमबार अभिमुखिकरण कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का वडाध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सबै टोल विकास संस्थाका प्रतिनिधि, अग्रनी सञ्जाल, प्रगतिशिल महिला सामुदायिक संस्था, स्थानीय जनप्रतिनिधि, मेलमिलाप कर्ता लगायत ५० बढीलाई प्रशिक्षण दिइएको थियो ।
अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालकालिका सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले टोल विकास संस्थाको परिचय, टोल विकास संस्था के, किन, टोल विकास संस्थाको उदेश्य, संस्था गठन एवं कार्यसञ्चालन विधि, संस्थाका पदाधिकारीहरुको काम कर्तव्य लगायतका विषयमा जानकारी दिएकी थिइन् ।
साथै उनले प्रायजसो टोल विकास संस्थाहरुले कार्यविधि विपरित काम गरी रहेको भन्दै यस्ता कुराहरुमा टोल विकास संस्थामा आवद्ध पदाधिकारीहरुले ध्यान दिनु पर्ने जानकारी दिइन् । टोल विकास संस्थाहरुले गर्ने कामको अभिलेख पनि राख्नु पर्ने बताइन् ।
त्यसैगरी ओरेक नेपालका कार्यसमिति सदस्य पद्मा चौधरीले लिंग र लैंगिकता, लैंगिक विभेद, लैंगिक विभेदमा आधारित विभेद, हिंसाका प्रकार, हिंसा न्युनिकरण गर्न सरकारले चालेका कदम लगायतका विषयमा जानकारी दिएकी थिइन् ।
सोही अवसरमा ओरेक नेपालका कार्यक्रम संयोजक पूजा चौधरीले महिलावादी दृष्टिकोणबाट घटना अभिलेखि करण तथा सम्प्रेषण सम्बन्धि जानकारी दिएकी थिइन् । सोही अवसरमा बोल्दै वडाध्यक्ष खुशीराम चौधरीले टोल विकास संस्थाका सदस्यहरुको क्षमता विकाससंगै टोल विकास संस्थाले विभिन्न समयका काम गर्दा उपमनगरपालिकाको कार्यविधि विपरित हुने भएकाले त्यो सुधार गर्नको लागि अभिमुखिकरण कार्यक्रम राखिएको बताए ।
त्यसका साथै टोल विकास संस्थाहरुले गर्न हुने र गर्न नहुने कामको जानकारी दिनुका साथै विकासको रहेक काममा वडा सरकार सँग टोल विकास संस्थालाई जोड्नको लागि पनि कार्यक्रम आयोजना गरेको बताए । सोही कार्यक्रममा सहभागि टोल विकास संस्थाका पदाधिकारीहरुले आफुहरुले टोल विकास संस्था मार्फत टोलमा हुने झै झगडा मिलाउने, सार्वजनिक गजग्गा संरक्षण गर्ने, विपन्न परिवारहरुलाई विरामी परेमा उपचारमा सहयोग गर्ने, बाटो चौडा गर्ने, टोलमा जाँड रक्सी खाएर हो हल्ला गर्नेलाई सम्झाउने, टोलमा जुवा तास खेल्न निषेध गर्ने, खाने पानीको लागि टोलको पैसाले धारा जडान गर्ने, टोल सरसफाई गर्ने लगायतका काम गर्दै आएको जानकारी दिएका थिए ।
लाइभदाङ । १४ चैत्र २०७९, मंगलवार १०:१० बजे