दाङ, १२ चैत ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आज आइतबार नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिएका छन् ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए । माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
लाइभदाङ । १२ चैत्र २०७९, आईतवार १३:४६ बजे