
तुलसीपुर, १३चैत । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)को लगानीमा बुधबारदेखि दाङमा काम सुरु गर्ने भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धानखोलादेखि लमही सडक स्तरबृद्धिको काम सुरु गर्ने भएको छ । उक्त सडक स्तरबृद्धिको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नेछन् । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजना अन्तर्गत उक्त सडक स्तरबृद्धि हुन लागेको हो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति(एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ ।
दुई कम्पनीले उक्त सडकको ठेक्का पाएका छन् । एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्न शर्मा–कुमार जेभीसँग करिब २ करोड अमेरिकी डलर (भ्याट बाहेक २ करोड ८ लाख डलर) को सम्झौता गरेको छ । जुन नेपाली कम्पनी हो । एमसीसीका अन्य ठेक्काहरु नेपाली कम्पनीले यस अघि पाएका थिएनन् ।
यस्तै उक्त सडक खण्डको स्तरोन्नति र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरीवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरको अर्को सम्झौता पनि गरेको छ ।
ठेक्का प्रतिस्पर्धामा नेपालसहित भारत र युक्रेनका गरी ११ वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसमध्ये शर्मा–कुमार जेभी, कालिका कन्स्ट्रक्सन, तुँदी–आशीष जेभी र स्वच्छन्द–रमन जेभी गरी चारवटा कम्पनीहरू पूर्ण नेपालीको स्वामित्वका थिए ।
एमसीसी परियोजनाअन्तर्गत धानखोला–लमही ४० किलोमिटर सडक खण्डको मर्मत तथा स्तरोन्नतिका विषयलाई लिएर स्थानीयहरूले यस अघि विरोध पनि गरेका थिए । उक्त सडक चारलेन बनाउनु पर्ने माग सहित स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।
पूर्वपश्चिम राजमार्ग अहिले पनि दुई लेनको छ । साँघुरो भएका कारण यसलाई एशियाली हाइवे मापदण्डमा स्तरोन्नति भइरहेको छ । झापादेखि कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनको बनाउने प्रक्रिया अहिले पनि चलिरहेको छ । सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाएको छ ।



लाइभदाङ । १४ बैशाख २०८३, सोमबार १२:५७ बजे