दीपक बोहरा,
तुलसीपुर,११ चैत ।
दाङ तुलसीपुर स्थित दिदी घरमा आश्रय लिएका बालबालिकाहरुलाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ बखरिया स्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकाहरुलाई अंग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताउनुभयो ।“बालबालिकाहरुलाई अंग्रेजी शिक्षालाई राम्रो बनाउनकालागि मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”,उहाँले भन्नुभयो“उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”
अहिले संस्थाले १० जना छात्रलाई बखरियामा राखेको छ , भने तुलसीपुर ६ डुम्रीगाउँमा २२ जना छात्रालाई राखिएको छ । केही समयपछि छात्राहरुकालागि पनि डेनमार्कबाट छात्राहरुलाई बोलाएर पढाउने अध्यक्ष चौधरीले बताउनुभयो । डेनमार्कका नागरिकले पढाउन थालेपछि विद्यार्थीको अंग्रेजी पनि सुधार हुँदै गएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहनुभएको छ ।
उक्त संस्थाले शाहारा विहीन बालबालिकालाई आश्रय दिइरहेको छ । सडकमा भौतारिएर हिडिरहेका, अभिभावक विहीन, न्यून आर्थिक अबस्था रहेका बालबालिकालाई लामो समयदेखि पालनपोषण गर्दै आएको छ । त्यहाँका बालबालिकाहरुलाई सबैलाई शिक्षा दिक्षा दिने गरिएको छ, भने साँझ विहान पढाउन तथा पालनपोषणकालागि कर्मचारी पनि राखिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
लाइभदाङ । ११ चैत्र २०७९, शनिबार १०:०२ बजे