मास्कीको पहलमा राणाले पाए निःशुल्क उपचार

दाङ, २२ फागुन ।
दाङ बबई गाउँपालिका वडा नं.१ मलै निवासी मित्रलाल राणा गएको साउनमा बबई गाउँपालिका कार्यालयबाट ट्याक्टरमा जाने क्रममा दुर्घटनामा परेका थिए । त्यो दुर्घटनाबाट उनका दायाँ खुट्टा भाँचियो । खुट्टा भाच्चिएपछि केही समय ट्याक्टरका साहुले नेपालगञ्ज लगरेर उपचार गरे । त्यो गर्दा ट्याक्टर साहुको ५० हजार खर्च भएको छ ।

त्यसपछि ट्याक्टर साहुले पनि उपचार गरेनन् । घरबाटै उपचार खर्च जुटाउनु प¥यो । आफैले ऋण खोजेर ५०/६० हजार खर्च गरे । त्यसपछि आर्थिक अभावमा उपचार नै गर्न सक्ने अवस्था भएन । उनको खुट्टामा रड राखिएको थियो । रड राखिएको खुट्टाको हेरचार, फलोअप, खान पान नमिलेपछि भित्र भित्रै पाक्न थाल्यो ।

खुट्टा पाकेको कुरा उनलाई थाहा भएन, खुट्टा धेरै दुख्न थालेपछि उनलाई चुनाब प्रचारका क्रममा त्यहाँ पुगेका उम्मेदवार धनबहादुर मास्कीलाई भनेपछि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । चुनाब जितेपछि मास्की राणाको घरमा पुगे । उपचार नपाएको ५ महिना भन्दा बढि भइसकेको थियो । घरको आर्थिक अवस्था कम्जोर थियो ।

त्यसैलाई मध्येनजर गरि प्रदेशसभा सदस्य मास्कीले आफैले व्यहोर्ने गरि अस्पताल ल्याएका थिए । माघ २४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएपछि राणनाको उपचार त्यही सुरू भयो । उनको खुट्टा भित्रै भित्रै पाकेर कुहिएको अवस्था थियो ।


त्यसलाई अप्रेशन गरेर काटेर फाल्नु पर्ने भयो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा अर्थोपेडिक डा. ओम अर्याल र डा.हेमराज शर्माले उनको खुट्टाको अपरेशन गरेका थिए । त्यो सबै सबै खर्च निःशुल्क भयो । शल्यक्रिया शूल्क,औषधी, बेड चार्जलगायतका सबै खर्च अस्पतालले व्यहोरेको थियो, भने एक जना कुरूवाको खानालगायत औषधीसहितका खर्च सांसद मास्कीले सहयोग गरेका थिए ।

केही रकम मास्कीको र केही अस्पतालको सहयोगमा उनको खुट्टाको अपरेशन भएको छ । “अस्पतालले अपरेशन खर्च,केही औषधी खर्च व्यहोरेको छ”,अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्यालले भने “केही रकम मान्य ज्यूले ब्यहारेका थिए ।” राणाको उपचार पछि आईतबार डिस्चार्ज गरिएको छ ।

सबैको सहयोगमा उपचार पाउँदा आफू खुसी भएको उनको भनाई छ ।“उपचार गर्ने हामीसंग पैसा थिएन”,उनले भने “हामीले धनबहादुर मास्कीलाई चुनाबमा गएको बेला भनेका थियौं, पछि उनी आफै घरमा गएर उपचारकालागि ल्याएर आएका थिए।” उनीको आर्थिक अवस्था पनि कमजोर भएकाले आफैले खर्च गरेर भएपनि उपचार गरेको सांसद मास्कीले बताए । साभारः अग्रिम साप्ताहिक