अख्तियारको फन्दामा दाङका वली, साढे ५ लाख विगोदावी

दीपक बोहरा,
दाङ, १५ फागुन ।
दाङका दुर्गा प्रसाद वली अख्तियारको फन्दामा परेका छन् । बबई गाउँपालिका वडा नं.४ निवासी वलीलाई अख्तियारले ५ लाख ५६ हजार ४ सय ३८ रूपैँया विगो कायम गरि विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुर्गा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक वलीले दाङ–सुर्खेत सडक खण्ड स्तरोन्नतीका क्रममा सल्यान कालिमाटी ३ स्थित महिला सामुदायिक बन उपभोक्ता समिति अन्तर्गत पर्ने काठमहरूमा हिनामिना गरेको भन्दै अख्तियारको फन्दामा परेका हुन् ।

काठको नाप साइज तथा गोलिया परिमाणमा, वास्तविक परिमाण भन्दा कम नाप लिई वास्तविक लगत नराखेको भन्दै एक लाख ८७ हजार, ८ सय ७७ विगो कायम गरिएको छ । कालिमाटी सवडिभिजन वन कार्यालय, कालिमाटी सल्यानले तयार गरेको कटान रजिष्टर, घाटगद्दी लगत र काठ दाउरा मूल्यांकन फारममा उल्लेख भएको काठको नाप साईज तथा गोलिया परिणाममा वास्तविक नराख्दा उक्त लाभ हानी भएको र सोही कार्य गैरकानुनी लाभ भएको अख्तियारको ठहर छ ।

त्यस्तै नियमानुसार छपान भई कटान भएका रूखहरू मध्ये १५ वटा रूखहरूको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखको भन्दै २ लाख ६८ हजार ५ सय ६१ रूपैँया विगो कायम गरिएको छ । महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटीलाई सोही बराबर हानिनोक्सानी गरेको देखिएको हुँदा विगो कायम गरिएको हो । त्यस्तै वलीलले कटानमुछानको भुक्तानी वापत डिभिजन वन कार्यालय सल्यानका सहायक वन अधिकृत मनोज शर्मा लम्साललाई घुस÷रिसवत वापत एकलाख घुस दिएको पुष्टी भएको भन्दै सोही रकमलाई पनि विगो कायम गरि सजाय गर्न मुद्दा दायर गरिएको हो । उनी विरूद्ध माघ २४ गते विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


६ जनाविरूद्ध मुद्दा दायर
अख्तियारले सोही मुद्दामा सल्यानको कालिमाटी सव–डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससहित ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कालीमाटी गाउँपालिका वडा नं ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सवडिभिजन वन कार्यालय, कालीमाटी –३, सल्यानमा कार्यरत फरेष्टरसमेतले रूख कटान गरि बिक्री वितरण गरेको पाइएको आयोगको आरोप छ ।

साथै उनीहरूले तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक–खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी –३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरू कटान, मुछान लगायत बिक्री वितरणमा अनियमितता गरेको आयोगको भनाई छ ।

अख्तियारका अनुसार तुल्सीपुर–पुरन्धारा–वोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रूखहरूको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिष्टर तयार पारिएको थियो । काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी प्रमाणित गरेकोले पाइएको छ । यसबाट उनीहरूले एक लाख ८७ हजार ८७७ रूपैयाँ बराबरको हानिनोक्सानी पु¥याएका छन् ।

उक्त रकम बराबरको विगो कायम गरी उनीहरू ६ जना विरूद्ध नै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । हिनामिना भएको सम्पति असुलउपर हुनसमेत मागदावी लिनु पर्ने आयोगको भनाई छ । साभारःअग्रिम साप्ताहिक