
तुलसीपुर, ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित राप्ती बबइ क्याम्पसले १६ बर्ष पछि स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को नेतृत्व पाएको छ । यस अघि १४ बर्षसम्म पनि स्ववियु निर्वाचन हुन सकेको थिएन ।
२०७९ सालमा १४ बर्षपछि स्ववियु निर्वाचन भएपनि राप्ती बबइ क्याम्पसमा भने विचमै मतदान रोकिएको थियो । नेविसंघ भित्र विवाद भएपछि सोही क्याम्पसमा मतदान नै रोकिएको थियो । मतदान रोकिएपछि त्यतिकै निर्वाचन स्थगित भएको थियो । यस बर्ष भने शान्तिपूर्ण तरिकाले निर्वाचन भएको छ । निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ ।
क्याम्पसमा नेविसंघले सबै पदमा विजयी हाँसिल गरेको छ । सभापतिमा प्रमोद भण्डारीसहित सबै पदहरू नेविसंघले जितेको हो। भण्डारीले ७ सय ३७ मत ल्याएर विजयी हाँसिल गर्नुभएको हो । भने, निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले ३८९ मत प्राप्त गर्नुभएको थियो । खत्रीले पनि नेविसंघबाट विद्रोह गर्नुभएको थियो । यद्यपी उहाँले अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले समर्थन गरेका थिए । सभापतिका अन्य दुई उम्मेदवार कोमलबहादुर वली (केबी) ले १३७ र कृष्ण केसी (डेभिड खत्री) ले २९ मत ल्याउनु भएको थियो ।
सचिव पदमा पनि नेविसंघका टोपबहादुर वली ६१२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सचिव पदका संयुक्त विद्यार्थी प्यानलकी उम्मेदवार सोनिया थापाले ५६५ मत प्राप्त गर्नुभएको थियो । सचिव पदमा स्वतन्त्र उम्मेदवार अंकित डाँगीले ५७ मत मात्रै प्राप्त गर्नुभयो ।
कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार शिक्षा नेपाली ५६२ मत प्राप्त गरी विजयी हुनुभयो, भने संयुक्त विद्यार्थी प्यानलका तिलकराज डाँगीले ४४७ र स्वतन्त्रका आसिक मियाँले जम्मा ९५ मत प्राप्त गर्नुभएको थियो ।
प्रत्यक्षतर्फको सदस्य पदहरूमा पनि नेविसंघकी मनिषा चौधरीले ७६२ मत, रूपेश चौधरीले ७५४ मत, यामकुमारी भण्डारीले ७४६ मत, सञ्जिव चौधरीले ७१४ मत, ममता वलीले ७३९ मत, करूणा नेपालीले ७१५ मत र लक्ष्मण वलीले सर्वाधिक बढी ८२५ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । भने संयुक्त प्यानलका दिलिप शर्मा(दीपक)ले ५ सय ५३ मत ल्याएर विजयी हुनुएको हो ।
संयुक्त विद्यार्थी प्यानलका प्रत्यक्षतर्फ सदस्य पदका उम्मेदवारहरूमध्ये नेबबहादुर भण्डारी (नबीन) ले ४८६ मत, कबि सेन सिनले ४९५ मत, प्रेम केसीले ४६८ मत, अनिता खड्काले ४६४ मत र तुलसीराम भण्डारीले ४९० मत प्राप्त गरेका थिए।
तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो।
निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्ययनरत ३३१४ विद्यार्थी जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए।
त्यस्तै लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थी परिवारले जित हात पारेको छ । स्वतन्त्रका सभापति पदका उम्मेदवार मिलन चौधरी ४४६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ, भने निकटतम प्रतिस्पर्धी अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै देउखुरीकै राप्ती गाउँपालिका–२ लालमटियाको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका विनोदकुमार सोनीको प्यानल विजय भएको छ।
सोनी २१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार प्रकाश पुनले १५८ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै दाङको घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पस लगायत अन्यमा भने सर्वसम्मत रूपमा स्ववियु नेतृत्व चयन भएको थियो।
भरतपुर क्याम्पसमा नेपाल विद्यार्थी संघका दिपेश डिसी सर्वसम्मत रूपमा क्याम्पसको स्ववियु सभापति चयन हुनुभएको हो ।



लाइभदाङ । ६ चैत्र २०८१, बुधबार २२:१५ बजे