विद्यार्थीका आँखा जाँच्दै, चस्मा दिदै‘सगरमाथा’

तुलसीपुर,१३ फागुन । दाङ तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले शुक्रबार विद्यालयमा विद्यार्थीका आँखा जाँच कार्यक्रम गरेको छ । राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा विद्यालयका २८० भन्दा बढि विद्यार्थीहरूको आँखा जाँच गरिएको हो । विद्यार्थीको आँखालाई विग्रिन नदिनकालागि यस्तो कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेत्र सहायक बालिका सेर्पाइलीले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरि विद्यालयले आयोजना गरेको आँखा जाँच कार्य एकदमै सह्रानीय भएको बताईन् । उनले आँखा कम्जोर हुनबाट बचाउनको लागि विद्यार्थीहरुलाई खानपिनमा ख्याल गर्न आग्रह समेत गरिन् । उनले प्रशस्त मात्रामा सागपात, गेडागुडी, फलफूल र भिटामिन ‘सि’ प्राप्त हुने खाने कुराहरू खान समेत आग्रह गरिन् ।

कार्यक्रममा पत्रकार गोपाल शर्मा भट्टराईले विद्यार्थीहरूको व्यक्तित्व, नेतृत्व विकास र स्वास्थ्यमा उल्लेखनीय टेवा पुग्ने बताए । उनले विद्यालयले पढाइलाई मात्र नभएर विभिन्न गतिविधिहरूलाई प्राथमिकतामा राखेको विभिन्न सामाजिक सञ्जालमा देख्दा धेरै खुशी लागेको पनि बताए ।


विद्यालयले पढाईलाई मात्र नभइ विद्यार्थीहरूलाई शाररीक,मानशिक, संवेगात्मक हिसाबले पनि अब्बल बनाउनु पर्ने विद्यालयका प्रधानाध्यापक छबिकुमार वलीले बताए । ‘हामीले पढाईलाई मात्र ध्यान दिएका छैनौँ । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापहरू पनि गराउँदै आएका छौँ ।’,उनले भने‘ जसले गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक रुपमा मात्र नभइ समाजमा पृथक र अब्बल गराउन महत्वपूर्ण भूमिका हुने छ ।’

यस्तै आजको आँखा जाँच कार्यक्रमले विद्यार्थीहरूमा आँखामा भएको समस्या थाहा हुने भएकाले पनि गरिएको बताए । उनले कार्यक्रममा दृष्टिदोष देखिएका ७ जना विद्यार्थीहरूलाई निःशुल्क चश्मा उपलब्ध गराउने पनि बताए ।