गाउँमा गुइँठा प्रयोग

दाङ, ८ फागुन ।
दाङका प्रायः गाउँमा इन्धनकालागि ‘गुइँठा’ सुकाएको देखिन्छ । प्रायः चौधरी समुदायमा बढि यसको प्रयोग हुने गरेको भएपनि अन्य समुदायको घरमा पनि यसरी घर आँगणमै गुइँठा देख्न सकिन्छ । दाउराको विकल्पमा यसरी गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर १२ कचिला निवासी मिनकुमारी चौधरीले बताईन् । “दाउरा लिन बन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौं”,उनले भनिन् “गुइँठा सजिलो लाग्छ ।”

गाई,गोरू, भैसी, राँगाको गोबरमा पराल र भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले पनि दाउराकै काम गर्ने भएकाले थारू समुदायले परम्परादेखि नै यसको प्रयोग गर्ने गर्थे । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन पनि बढेको छ । एक विटा गुइँठाको १५ सयदेखि २ हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताईन् । “कसैले त गुइँठा बनाएर बिक्री पनि गर्छन्”,उनले भनिन् “प्रायःले अहिले गाउँ–घरमा गुइँठा नै बाल्ने गर्छन्, त्यसैले पनि किनबेच भइरहेको छ ।”


४ वटा गुइँठाले खाना पकाउन सकिन्छ । गुइँठाको खरानी पनि खेतिपातीमा मलका लागि पनि प्रयोग हुने गर्छ । त्यसैले पनि गुइँठाको प्रयोग हुनेगर्छ ।“खेतिपातीमा यसको खरानी पनि प्रयोग हुन्छ, गुइँठाबाट पकाएको खाना पनि मिठो हुन्छ”,तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले भने“त्यसैले पनि यसको प्रयोग बढि हुने गरेको हो ।” खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउने उनले बताए । साभारः अग्रिम साप्ताहिक