पाँच वर्षमा लुम्बिनी प्रदेशबासीलाई नमूना राजधानी दिन्छौं : मुख्यमन्त्री

दाङ, ३ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्ने बताए । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा विकास गर्ने भन्दै त्यही अभियानमा अगाडी बढेको बताए ।

‘समृद्ध प्रदेश आत्मनिर्भर जनता’ को अभिभारा पुरा गर्न लागिपरेको भन्दै मुख्यमन्त्री गिरीले मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमुना प्रदेश बनाउने बताए । उनले पाँच बर्षमा पूर्वाधार सम्पन्न र जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गर्ने बताए ।

साथै उनले प्रदेशको समृद्धिका आधारको खोजी गर्दै सरकार अगाडि बढ्ने समेत बताए । कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने समेत उनले बताए । पूर्वाधारको विकासले मात्र प्रदेश समृद्ध नहुने भन्दै जनताको जीवतस्तर उकास्ने गरी काम गर्ने समेत उनको भनाई छ ।

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँचवर्ष उपलब्धीमुलक रहेको समेत उनले बताए । उनले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको भन्दै यो उपलब्धी रहेको बताए । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामाकरण टुंगो लगाएको भन्दै संघीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीब्ररुपमा अगाडि बढाउने उनको भनाई छ ।


त्यस्तै प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सबै काम स्थायी राजधानीबाट सुरु गर्ने बताए । पूर्वाधारको अभावमा सरकारका सम्पूर्ण संरचना राजधानी स्थलमा स्थानान्तरण हुन नसकेको बताउँदै मन्त्री आचार्यले पूर्वाधार व्यवस्थापनको कार्य अगाडि बढेको बताए ।

६१ जना विभूषित
प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पु¥याएको भन्दै विभूषित गरिएको हो । थापा घाइते समेत हुन् ।

त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ । डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।

त्यस्तै प्रदेश सेवा समर्पण पदकबाट डा.विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह, भोगबहादुर खड्कालाई प्रदान गरिएको छ ।