
तुल बहादुर कवँर मगर
मसुरिया, २७ बैशाख।
दाङको राप्ती गाउँपालिकामा विद्यालयहरूको बिहानी सांगीतिक प्रार्थना व्यवस्थापन तथा व्यवहारिक उत्प्रेरणासम्बन्धी तीनदिने कार्यशाला शनिबारदेखि सुरु भएको छ।
गाउँपालिकाको आयोजना तथा अर्किड मल्टि सर्भिस कन्सल्टेन्सी एण्ड ट्रेडिङ इन्स्टिच्युट प्रा.लि., बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा कार्यशाला सञ्चालन गरिएको हो।
गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूमा बिहानी प्रार्थनामा एकरूपता ल्याउने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षकहरू आफ्नो पेशाप्रति समर्पित भए मात्र सकारात्मक परिणाम देखिने बताउनुभयो। “इच्छाशक्ति भए असम्भव केही छैन,” उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयको तुलनामा पछि परेका छन्, त्यसैले नतिजा सुधारका लागि शिक्षकहरूले आफ्नो भूमिकामा इमानदार हुनु जरुरी छ।”
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकका अनुसार तालिमले विद्यार्थीहरूको शैक्षिक नतिजा सुधार, अनुशासनको विकास, साथै शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने अपेक्षा गरिएको छ।
मसुरियास्थित गाउँपालिका कार्यालयमा सञ्चालन भइरहेको कार्यशालामा सामुदायिक विद्यालयका ४० जना शिक्षकहरूको उपस्थिति रहेको छ।कार्यशालामा कालिका मानव ज्ञान माध्यमिक विद्यालय, बुटवलका खेलकुद प्रशिक्षक तथा सांगीतिक व्यायाम (पिटी) प्रशिक्षक एवं सामाजिक अभियन्ता हरिस वलीले प्रशिक्षण दिइरहनुभएको छ।
तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा विहानी प्रार्थना व्यवस्थापन, पिटी तालिम, शैक्षिक तथा व्यवहारिक उत्प्रेरणा सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइनेछ।




लाइभदाङ । २७ बैशाख २०८२, शनिबार २१:०९ बजे