दाङका चार पालिकामा प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिबन्ध

दाङ, १५ कार्तिक ।
दाङका चार पालिकाले प्लाष्टिकका फूलमालाको बिक्रिमा प्रतिवन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लाष्टिकका फूलमाला बिक्रिमा रोक लगाएका हुन् ।

तिहार पर्व नजिकिदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रिमा सहजताका लागि चार वटै पालिकाले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलबार राप्ती गाउँपालिकाले प्लाष्टिकजन्य माला प्रयोग नगर्न अपिल जारी गरेको हो । राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ ।


यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिक फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारको समर्थन पाएपछि फूल खेती गर्दै आएका किसान खुसी भएका छन् ।

प्लाष्टिकका फूलमाला बिक्रिमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूलखेती गरेका तुलसीपुर–२ का गणेश भण्डारीले बताउनुभयो । दाङमा यसवर्ष करिब २२ बिगाह क्षेत्रफलमा फूलखेती गरिएको छ ।