सडक मिचेका घर हटाउन दवाव दिऔं

दाङ–सुर्खेत सडक खण्डको तुलसीपुर बजार क्षेत्रमा सडक मिचेर धेरै घरहरु बनेका छन् । तर, ति घरहरु राजनीतिक दवाव र प्रभाबमा फाल्न सकिएको छैन । जसले गर्दा तुलसीपुर बजार क्षेत्रमा चार लेन बनाउने कुरा अगाडी बढ्न सकेको छैन । २०२८ सालदेखि सडक चौडा हुन सकेको छैन । दुर्घटना भइरहेका छन् । ठूला गाडीहरुलाई आवतजावतमा निकै कठीनाई हुने गरेको छ । विरेन्द्र चोकमा धेरै पटक ठूला गाडीहरु मोड्न खोज्दा सडक जाम हुने अबस्था रहेको छ । सडक साँघुरो भएकै कारण दुर्घटना भइरहेको प्रतिबेदन पनि सार्वजनिक हुने गरेका छन् । तर, सडक मिचेर बनाएका घरहरु भत्काउन कसैले पनि आँट गरेको छैन । संघीय सरकारको मातहतमा पर्ने सडक भएकाले सडक डिभिजन कार्यालय दाङले त्यो आँट गर्नुपर्ने हो, तर, सकिरहेको छैन । उपमहानगरपालिको पनि आफ्नो बजार क्षेत्रलाई व्यबस्थित बनाउन सक्छ । सडक मिचेका घरहरु हटाउन सक्छ । तर, उपमहानगरपालिकाले पनि त्यो आँट गर्न सकेको अबस्था छैन ।

उपमहानगरपालिकाले २ बर्ष अघि बसपार्क क्षेत्रका १७ घर हटायो । त्यतिबेला सडक मिचेर बनाएका सबै घर हटाउने भनि उनीहरुसंग मौखिक सम्झौता भएको थियो । सडक मिचेका सबै घर फाल्ने भएकै कारण ति १७ घरले पनि आफै घर भत्काउन राजी भएका थिए । तर, अहिले ति घर भत्काएका सडकलाई व्यबस्थित बनाईएको छ, न त सडकका अन्य घरहरु भत्काईएको छ । त्यसले गर्दा अहिले उपमहानगरपालिकाप्रति त्यहाँका नागरिकहरुले गुनासै गुनासो गर्ने गरेका छन् । घर भत्काएपनि व्यबसाय गर्ने ठाउँ दिने उनीहरुको अर्को सहमति थियो । तर, अहिले व्यबसाय गर्न दिनु भन्दा पनि व्यबसायीहरुले बनाएका ढेब्लीमा समेत डोजर लगाईयो । त्यस उनीहरु थप पीडित बन्ने गरेका छन् । उनीहरुका सामग्रीहरु अहिले एउटा घरको कोठामा थन्काउनुपर्ने बाध्यता रहदै आएको छ ।


उपमहानगरपालिकाले सडक मिचेका घरहरुलाई भत्काउने कार्यलाई सबैले समर्थन जनाएका छन् । तर, कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रबृतिको भने सबै क्षेत्रबाट विरोध हुने गरेको छ । राजनीतिक दवाव र प्रभाबका आधारमा कसैको घर भत्काउने र कसैका घर जोगाउने जुन प्रबृति देखिएको छ । यसको सशक्त विरोध गर्न आबश्यक छ । खुल्ला सडक, व्यबस्थित बजार भएमा बजारको सौन्दर्यता पनि बढ्ने र सडक सञ्जाल पनि सुरक्षित हुने गर्छन्, यसकालागि सबै तुलसीपुरवासी एकजुट भएर आवाज उठाउनु अपरिहार्य हो ।