
केही दिन अघि दाङको तुलसीपुरबाट त्रिसिद्देश्वरी यातायात सेवा प्रालिले भारतको दिल्लीसम्म जाने बसमा एउटै सिटमा दुई वटा टिकेट काटेको गुनासो आयो । दुई वटा गाडीले बोक्ने यात्रुहरु एउटै बसमा कोचाकोच यात्रा गरायो । मुडामा समेत टिकेट काटेर यात्रा गर्नुपर्ने अबस्था अझै पनि छ, भन्दा अनौठो मान्ने अबस्था पनि आयो । खासगरि भारतमा जाँदा यसरी कोचाकोच यात्रा गर्नुपर्ने बाध्यता छ । लामो दुरीको यात्रामा यसरी मुडामा बसेर यात्रा गर्दा निकै सास्ती हुने नै भयो । मुडामा मात्रै होईन्, उभिएर यात्रा गर्नुपर्ने अबस्था आएमा त्यो यात्रा कस्तो होला ?, यो अनुभूति सधै प्लेनमा यात्रा गर्ने, आफ्नो निजि गाडीमा यात्रा गर्नेहरुलाई नहुँन सक्छ । तर, साँच्चिकै यात्राको दुःख भोग्नेहरुलाई मात्रै हुन्छ ।
यात्रा कसैले रहरले गरेको हुँदैन । त्यसमा पनि दिल्ली जानेहरु त अधिकांस उपचारकै लागि जाने हुन् । यस्तो अबस्थामा सहज यातायात दिन सक्नु पर्छ । नितान्त पैसा कमाउनकालागि ब्यबसाय गर्ने कुराले राम्रो परिणाम दिदैन । हामीले प्रभाबकारी सेवा दिने र त्यो अनुसारको ब्यबपार ब्यबसाय गर्ने हो, त्यो नै यो पेशाको ब्यबसायिक धर्म हो । तर, शक्तिको आडमा कुनै पनि यात्रा मारमा पर्ने कुरा मानवीय धर्म होईन् ।
यसरी तुलसीपुरबाट घोराही हुँदै जाने बसलाई ट्राफिक चेकजाँचमा पनि ध्यान दिएको पाईदैन । अनुगमन सबै तहका सवारी साधनलाई हुनुपर्छ । सवारी जाँच गर्दा कानुन विपरित चलिरहेका छन्, भने त्यस्ता सवारीलाई कारवाही गर्न तर्फ ट्राफिक प्रहरीले पनि खुट्टा कमाउनु हुँदैन । समाजमा राम्रो कुराको सुधार गर्ने कुरा सबै क्षेत्रबाट हुनुपर्छ । तर, यहाँ तर्क, वितर्क गरेर आफू चोखिने कुराले नै समाज विग्रिदै गएको छ । आफ्नो कमजोरी नदेख्ने, अर्काको देख्ने प्रबृतिले समाज गलत मार्गमा गइरहेको छ । यस तर्फ पनि ध्यान दिनुपर्छ । साभार : अग्रिम साप्ताहिक



लाइभदाङ । २८ कार्तिक २०८२, बिहीबार १०:०९ बजे