चारलेनको ठेक्का तोड्ने की अघि बढाउने भन्ने छलफल भइरहेको छ : मन्त्री शर्मा

दीपक बोहरा,
दाङ,२९ माघ ।
घोराही–तुलसीपुर चारलेन सडक निर्माणको कामलाई अघि बढाउनकालागि आफू निर्वाचन जितेदेखि नै लागिरहेको सञ्चार मन्त्री रेखा शर्माले बताईन् । पत्रकार महासंघ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारहरुका संगठनहरुको आयोजनामा भएको स्वागत तथा बधाई कार्यक्रममा उनले चारलेन निर्माणको काम अगाडी बढाउनकालागि प्रक्रियागत रुपमा काम अघि बढेको भन्दै एकैपटक परिणाम आउने बताई । ‘निर्वाचन जितेको प्रमाणपत्र बुझेको दिनदेखि नै निरन्तर लागेकै छौं’,उनले भनिन्‘पहिले समस्या नै थाहा थिएन । अहिले धेरै कुरा बुझिएको छ ।’

निर्वाचन जितकै दिनमा दाङमा सम्बन्धित निकायसंग छलफल गरेर १५ दिन भित्र काम नसकेमा ठेक्का तोड्न राजी हुनकालागि सहमति गराईएको थियो । त्यतिबेला श्रेष्ठ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको थियो । त्यसको केही समयमा श्रेष्ठले काम छोडेपछि सुनिलजंग रायमाझीले ठेक्का पाएका थिए । तर, रायमाझीले पनि चारलेनको काम सुरु नगरेको र अर्कालाई ठेक्का दिएको भन्ने सुन्नमा आएको मन्त्री शर्माले बताईन् ।

दाङ क्षेत्र नं. २ बाट निर्वाचित शर्माले चारलेन भारतको एक्जिम बैंकको लगानीमा निर्माण हुन लागेको भन्दै नेपाल सरकारले मात्रै चाहेर अहिलेका ठेकेदारको ठेक्का तोड्न सम्भव नभएको समेत बताईन् । ‘नेपाल सरकारले मात्रै चाहेर ठेक्का तोड्न सक्ने अबस्था छैन,ठेक्का तोड्नु नै पर्ने अबस्था आएमा नेपाल सरकारले बजेट सुनिश्चित गर्नुपर्छ’,उनले भनिन्‘नत्र भने न यता, न उताको हुन्छ, त्यसैले बजेट सुनिश्चत गरेर ठेक्का तोड्न सकिन्छ ।’ मन्त्री शर्माले कि त राम्रोसंग काम गर्नुपर्ने, नभए ठेक्का तोड्नु पर्ने सर्तसहित अर्थमन्त्रालय मार्फत कुरा अघि बढेको समेत मन्त्री शर्माको भनाई छ ।

साथै उनले प्रक्रिया अगाडी बढिरहेकाले नआत्तिन पनि सबैमा अनुरोध गरेकी छन् ।‘म आफै पनि यो काममा अत्तिएकी छु, अहिले सरोकारवाला साथीहरु लागिरहनु भएको छ, यसले सकारात्मक दवाव दिइरहेको छ’,उनले भनिन्‘ यदि आन्दोलन गर्ने नै अबस्था बन्यो भने म नै अगाडी लाग्छु, मेरै नेतृत्वमा आन्दोलन गर्नुपर्ने होला ।’


सञ्चारसंग सम्बन्धित सबै कानुन संसोधन गछौं
सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले सञ्चारसंग सम्बन्धित सबै कानुन संसोधन गर्ने बताईन् ।‘चलचित्र बोर्डको ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पुरानो नै छ’उनले भनिन्‘आमसञ्चारको विकास तिब्र रुपमा भइरहेको छ, तर परम्परागत ऐन हुँदा समस्या रहेको छ , यसलाई संसोधन गर्ने हाम्रो तयारी छ ।’

हुलाकलाई पनि पुर्नसंरचना गर्न आबश्यक रहेको मन्त्री शर्माको भनाई छ । अहिले हुलाक सुनसान हुने गरेको भन्दै हुलाकलाई पुनसंरचना गर्न आबश्यक रहेको बताउनुभयो ।‘हामी एउटा हुलाक कार्यालयमा गयौं, जहाँ ४ महिनामा ३ वटा चिठी मात्रै पठाउने गरेको पाईएको छ’,उनले भनिन्‘हुलाकबाट ब्यक्तीगत चिठि आदानप्रदान लगभग समाप्त भएको छ, अदालतले पेशी लिन गएन भने हुलाकबाट पठाउने गरेको रहेछ, त्यो भन्दा अरु काम हुलाकबाट नहुँने अबस्था रहेछ ।’

मन्त्री शर्माले ‘हाईवे’मा फोनले काम गर्ने अबस्था नरहने भएकाले दुर्घटना हुँदा पनि उद्दारमा समस्या हुने गरेको भन्दै फोनको पहुँच पु¥याउनकालागि पहल गर्ने बताईन् ।

साथै उनले निर्वाचन जस्ले जितेपनि विकासमा सहकार्य हुनुपर्ने बताईन् । आफूले निर्वाचन जितेको भएपनि विकास निर्माणमा सबैसंग सहकार्य गर्ने बताईन् । साथै उनले राससलगायतका सरकारी सञ्चार माध्यामलाई प्रदेश राजधानीबाटै प्रादेशिक कार्यालय सञ्चालनकालागि पनि पहल गर्ने बताईन् ।