दंगिशरणमा भूमि सम्वन्धी अभिमुखिकरण

घोराही २४ माघ ।
राष्ट्रिय भूमि आयोग दाङ र दंगिशरण गाउँपालिकाको संयुक्त आयोजनामा मंगलवार दंगिशरणमा भूमि सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न  भएको छ । भूमिहिन सुकुम्वासीलाई सहज तरिकाले जग्गा उपलब्ध गराउने सवालमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

पालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा प्रमुख अतिथिको आसनवाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले पालिकाभित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई सहज तरिकाले जग्गा उपलब्ध गराउन र देखा पर्ने विवाद समाधानको लागि वडा देखि पालिका सम्म सर्वदलिय सहजीकरण समिति बनाउन अनुरोध गर्नुभयो ।


आधिकारिक निकाय वडा समिति र पालिका रहेकाले अहम् जिम्मेवारी पुरा गर्न जग्गा नापजाँचको क्रममा आवास क्षेत्र र खेतियोग्य जमिनको वर्गीकरण आवश्यक रहेको बताउनुभयो । साथै उहाँले सरकारी जग्गा नापजाँच गर्ने भएपनि वन क्षेत्र, नदी क्षेत्रको पहिचान गरि सार्वजनिक जग्गाको संरक्षण गर्ने र वितरण गर्ने महत्वपुर्ण जिम्मेवारी पालिकालाई रहेको बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य गोविन्द रेग्मीले पालिका र आयोग बीचको समन्वयमा नापजाँचको कार्य अगाडी बढाइरहेको बताउनुभयो । आवश्यक जनशक्तिको विषयमा समन्वय गरी कार्य अगाडी बढाउन अनुरोध समेत गर्नुभयो । कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरी, सदस्य कमला जिसी, ४ नम्वर वडा अध्यक्ष कमल चौधरी, वडा नं. १ का अध्यक्ष डम्बर खड्का पालिकामा खटिई आउनु भएका सर्भेक्षक दिपेन्द्र शाह, पालिका प्रतिनिधि जुगमानी चौधरी लगायतले पालिकामा रहेका समस्या र समाधानका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।