तुलसीपुरको फोहर ब्यबस्थापनमा निजि क्षेत्रले चासो देखाएका छन् । सरकारले निजि क्षेत्रसंगै मिलेर काम गर्ने हो । निजि क्षेत्रको सहयोग चाहिन्छ नै । त्यसैले पनि तुलसीपुर उपमहानगरपालिकाले निजि क्षेत्रसंग सहकार्य गर्न खोजेको देखिन्छ । निजि क्षेत्रलाई पनि आफूसंगसंगै हिडाउन खोज्ने सकारात्मक कुरा पनि हो । तर, स्थानीय सरकारले कस्ता कुरामा कतिसम्म निजि क्षेत्रसंग जोडिन सक्छ, त्यो उसको नेतृत्व र कार्यकुसलतामा भर पर्छ ।
हरेक शहरमा फोहर ब्यस्थापनको चुनौति हुन्छ । त्यो चुनौति तुलसीपुुमा पनि छ । तुलसीपुरमा निजि क्षेत्रले सरसफाई अभियान पनि चलाए । तर, त्यो अभियानले केही सुधार भएपनि उल्लेख्य रुपमा प्रगति भने देखिएन । डम्पिङ साईडको स्थायी ब्यस्थापन छैन । बजारमा पनि समयमा फोहर उठाउने गाडी आउदैन । उपमहानगरपालिकामा मात्रै ५० जना भन्दा बढि सरसफाईका कर्मचारी छन् । तैपनि प्रभाबकारी रुपमा काम हुन सकेको छैन । जहाँ समस्या हुन्छ, त्यहाँ स्वार्थ समूह पनि हावी हुन्छन् । त्यस्तै समूह तुलसीपुरमा हावी नहोलान्, भन्न सकिदैन । यसमा उपमहानगरपालिका सचेत नै होला । उद्यपी यहाँको फोहरलाई मोहर बनाउने योजना सहित निजि क्षेत्र आए भने त्यो सकारात्मक कार्य नै हो । त्यसरी जिम्मेवारी दिनु भन्दा पहिले उसले अन्य ठाउँमा गरेका अभ्यासहरुको पनि अध्ययन गर्नुपर्छ । विगतमा फोहर ब्यस्थापनमा गरेका उनीहरुका गतिबिधि र तुलसीपुरमा गर्न खोजेका राम्रा कामकालागि पेश गरेका आधारहरु कति बलिया हुन्, भन्ने कुराले पनि महत्व राख्छ ।
धेरै ठाउँमा फोहरबाट प्राङ्गारीक मल उत्पादन भएका छन् । फोहर ग्यास निकालिएका छन् । यसरी निजि क्षेत्र सहकार्य गर्न आउछन्, भने उनीहरुसंग गम्भीर छलफल बहस पछि मात्रै जिम्मेवारी दिदा प्रभाबकारी हुन्छ । धेरै ठाउँमा निजि क्षेत्रले जिम्मा लिएर फोहर अस्तब्यस्त बनाएका उदाहरणहरु पनि छन् । यहाँ त्यस्तो हुन नदिनकालागि सम्झौता गर्दा आफू बलियो हुँदा नै त्यसले सकारात्मक परिणाम दिन सक्छ । अन्थयता फोहर ब्यबस्थापनको जिम्मा लिने र पलायन हुने अबस्था भएमा त्यसको दोष स्वयं उपमहानगरपालिकाले लिनु पर्ने हुन्छ, भने बजार अस्तब्यस्तको मार नगरवासीले खेप्नु पर्ने अबस्था आउन सक्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १७ माघ २०७९, मंगलवार ११:०५ बजे