सहिद दिवसमा रक्तदान

तुलसीपुर, १६ माघ ।
झुलेनी सेवा समाज नेपाल दाङले सहिद दिवसको अवसर पारी रक्तदान गरेको छ । समाजले आफ्नो प्रथम स्थापना दिवस र सहिद दिवसको अवसरमा सोमबार तुलसीपुरमा रक्तदान गरेको हो । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा भएको कार्यक्रममा ९ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैको पनि ज्यान जाने अवस्था र्सिजना नहोस् भनी रक्तदान गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष गोबिन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले यज्ञ लगाउनु, लक्षबत्ति बाल्नु, विभिन्न दान दक्षिणा गर्नु भन्दा पनि रक्तदान गर्नु सयौं गुणा पुण्य काम भएको बताएका थिए । जति पैसा खर्च गरेपनि किन्न नमिल्ने रगत दान गर्नु समाज सेवाको सबैभन्दा उत्कृष्ठ कार्य भएको उनीहरुको भनाइ थियो । सो अवसरमा गोविन्दराज भण्डारी, ऋषिराज भण्डारी, देवराज भण्डारी, विजय सुबेदी, विमल भण्डारी, फर्साराम भण्डारी, खुविराम भण्डारी, त्रिभुवन भुसाल र दीपक पोख्रेलले रक्तदान गरेका थिए ।


समाजका सचिव दुर्गा प्रसाद भण्डारीको सञ्चालन बाट सुरु भएको कार्याक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य भीमलाल मरासिनी, समाजका उपाध्यक्ष सुरज भण्डारी लगायतले मन्तब्य राखेका थिए । सामाजिक सेवा र समुदायलाई एकताको सुत्रमा बाध्ने मूल उद्देश्य सहित स्थापना भएको संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।