
तुलसीपुर, २३ पुस ।
मन्चमा पालैपाले मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाईरहेका थिए । बुढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए,भने बुढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थिए–सिंगारु, पैसेरी र मयुर नाच पनि । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रममा यसरी थारु नाचको प्रतियोगिता भएको थियो । जसमा वडा भित्रका विभिन्न टोल विकास संस्था तथा क्लबहरुले सहभागिता जनाएका थिए ।
थारु संस्कार तथा संस्कृति संरक्षण गर्न यसरी माघी बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए । “पछिल्लो समय नयाँ पुस्ताले थारु संस्कार, संस्कृति भुल्दै गएको भन्ने गुनासो आउने गरेको छ”,उनले भने “यसलाई संरक्षण गर्न यो कार्यक्रम आयोजना गरेका हौं ।” वडाले यसरी प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ । जुन कार्यक्रममा युवादेखि जेष्ठ नागरिकसम्मले भाग लिएका थिए । जसमा रजौराको नाच प्रथम, रजेनीको नाच द्धितिय र रझेनाको नाच तृतिय भएका छन् ।
भाग लिएका अन्य नाच सबैलाई सान्त्वना बनाएर पुरस्कार प्रदान गरिएको छ । त्यस्तै झाँकीमा रझेनीको नाचले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विभिन्न भेषभुषमा सजिएर थारु समुदाय सहभागि भएको थियो । जहाँ ढिक्री, अचार, घुँङी, बंगुरको मासु समेतको व्यवस्था गरिएको थियो । जुन थारु समुदायको परिकार हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले थारु समुदायले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नकालागि यस्ता कार्यक्रमले भूमिका खेल्ने बताईन् ।
त्यस अवसरमा गुरुवा, सुडेनी, महतवा र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो । उनीहरुले समाजमा पु¥याएको योग्दानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा कलाकार दोषरण चौधरी र संगीता चौधरीले आफ्नो प्रस्तुती राखेका थिए ।
वडा सदस्य धनराज गौतमले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा अधिकारकर्मी शुष्मा लामिछानेलगायतले मन्तब्य व्यक्त गरेकी थिइन । कार्यक्रमको सहजीकरण सरिता चौधरीले गरेकी थिइन । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २३ पुष २०८१, मंगलवार ०८:३८ बजे