ज्योतिपुञ्ज मोडेलद्वारा सामुदायिक विद्यालयका सेवानिवृत्त शिक्षकलाई सम्मान

दाङ, १२ माघ ।
दाङको घोराही उपमहानगरपालिका वडा न. २ मा रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले आफ्नो सेवाक्षेत्रका सामुदायिक विद्यालयहरुबाट सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । वसन्तपञ्चमीको अवसर पारेर आज बिहिबार रामपुर क्षेत्रका १५ जना शिक्षकहरुलाई सम्मान गरेको हो । विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उहाँहरुले शिक्षाका माध्यमबाट समाजमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयमा प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतीत्वमा भएको कार्यक्रममा सेवानिवृत्त शिक्षकहरु भुवन कुमार आचार्य, डोमाकान्त पौडेल, लुमाकान्त भण्डारी, विश्वेश्वर प्रसाद पाण्डे, गिरिराज पाण्डे, माधवी पाण्डे, फकुलाल चौधरी, नारायण प्रसाद थापा, प्रकाशराज भुसाल, केशवराज शर्मा पन्थी, विष्णुप्रसाद रेग्मी, केशवराज पोख्रेल, चेतनाथ पोखे्रल, टंकेश्वर सुवेदी र राधा पौडेललाई कार्यक्रमका प्रमुख अतिथि ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका संचालक समितिका अध्यक्ष हेमराज शर्माले सम्मान पत्रका साथ फुलमाला लगाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले समाजमा शिक्षाको माध्यमबाट उज्यालो ज्योति फैलाउनका लागि जीवनको अमूल्य समय विताउनुभएका गुरुहरुलाई सम्मान गर्न पाउँदा संस्थाले गर्वानुभुती गरेको बताउनुभयो । सम्मानित हुने शिक्षकहरुले निजि विद्यालय भएर पनि सामुदायिक विद्यालयका सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै वर्षौ पहिले अलग भएका शिक्षहरुबिच विद्यालयले पुनर्मिलन हुने अवसर मिलाएकोमा आभार व्यक्त गर्नुभयो ।


नयाँ व्यवस्थापनका साथ समयानुकुल विशिष्ट कार्यक्रमहरुको साथमा विद्यालय संचालन भइ छोटो समयमै अभिभावकहरुको मन जित्न सफल भएको कुरा समाजबाट आफूहरुले थाहा पाएको बताउनुभएको थियो । समाजलाई अघी बढाउनका लागि समयानुकुल शिक्षा प्रदान गर्नका लागि दिर्घकालिन योजनाका साथ अगाडी बढ्न उहाँहरुले सुझाव दिनुभएको थियो ।

विद्यालयका प्रिन्सिपल शिव भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल प्रा.लि. रामपुरका अध्यक्ष बालचन्द्र शर्मा,सम्मानित व्यक्तित्वहरु लुमाकान्त भण्डारी र माधवी पाण्डेयले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर मदन घिमिरेले गर्नुभएको थियो ।

सरस्वती पूजा तथा अक्षरआरम्भ कार्यक्रम
ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुल रामपुरले आज श्रीपञ्चमी पर्वका अवसरमा विद्यालयमा सरस्वती पूजा गर्नुका साथै बालबालिकाहरुलाई अक्षर आरम्भ कार्यक्रम गरेका छन । विद्यालयका अभिभावक, शिक्षक,कर्मचारी र विद्यार्थीहरुको सहभागितामा भएको सरस्वती पूजा कार्यक्रममा विद्यालय जाने उमेर पुगेका बालबालिकाहरुलाई आज अक्षर आरम्भ गराएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका सहायक प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले जानकारी दिनुभयो ।