विमान दुर्घटनास्थलबाट ७ सय मिटर तल एउटा शव भेटियो, एक जनाको स्थिति अझै अज्ञात

काठमाडौं, ३ माघ ।
पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।

दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले जानकारी दिए ।

मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।


७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।