लुम्बिनीः सभामुखमा घर्तीको उम्मेदवारी,उपसभामुखमा ३ जना

दीपक बोहरा
दाङ,२ माघ । लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनको तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ । सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको हो, भने उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ । दिउसो १ बजेदेखि ५ बजेसम्म भएको उम्मेदवार दर्ताका क्रममा पाल्पा २(२)बाट निर्वाचत घर्तीले एमालेका भूमिश्वर ढकालको प्रस्ताब र राप्रपाका आशिष कुमार चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भागबन्डा अनुसार लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाएको थियो । त्यस्तै उपभामुखमा राप्रपाको भागमा परेको थियो । जसमध्ये गठबन्धनले राप्रपाबाट मेनुका खाँड केसीलाई उम्मेदवार बनाएको छ । जसको प्रस्ताबकमा माओवादी केन्द्रका इन्द्रजीत थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् ।

त्यस्तै उपसभामुखमा नेपाली काँग्रेसका नवलपरासी पश्चिम १(१) बाट निर्वाचित विश्वप्रेम पाठकले पनि उम्मेदवारी दर्ता गराएका छन् । जसको प्रस्ताबकमा बसिउद्दीन खाँ र समर्थकमा राजु खनाल रहेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ती पार्टीका निर्मला देवी थारु(चौधरी)ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । रुपन्देहीकी चौधरीको समर्थकमा धर्मबहादुर चौधरी रहेका छन्, भने प्रस्ताबकमा नरमाया ढकाल रहेका छन् ।


सभामुख, उपसभामुखको निर्वाचन मंगलबार दिउसो १ बजे बस्ने संसद अधिवेशनमा हुनेछ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०(दिपेन्द्र पुन सहित), राप्रपाका ४, जनमतका ३, जसपाका ३ गरि ४९ जना रहेका छन् । त्यस्तै दुईजना स्वतन्त्र सांसदले पनि सत्तापक्ष गठबन्धनलाई नै समर्थन गरेका छन् । सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ती पार्टीले भने उपसभामुखमा आफ्नै उम्मेदवार दर्ता गराएको छ । जसका ४ जना सांसद रहेका छन् ।

त्यस्तै काँग्रेसका २७, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र एकीकृत समाजवादीका १/१ गरि ३२ सांसद रहेका छन् । लुम्बिनी प्रदेशमा जम्मा ८७ सांसद रहेका छन् । ति मध्ये बहुमतकालागि ४४ सांसद चाहिन्छ ।