बैंकमा लगाइएको ताला खुल्यो

देउखुरी, १५ पुष ।
एनआइसी एसिया बैंक गढवा शाखामा लगाइएको ताला सहमतिपछि खुलेको छ । बैंकको ज्यादतिविरुद्ध तालाबन्दी गरिएको थियो ।

एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिनुभएको थियो तर बैंकले जग्गा र व्यवसाय हचुवाको भरमा लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका थिए ।


बिहीवार इलाका प्रहरी कार्यालय गढवामा बैंकका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच भएको छलफलपछि लोड गरिएको सामान झार्ने, पुनर्मूल्यांकन गर्ने, बैंकले पसलमा लगाएको तालाबन्दीको अवधिको ब्याज मिनाहाको लागि पहल गर्ने, एक महिना अवधिभर कुनै पनि लिलाम प्रक्रिया अघि नबढाउने सहमति भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो ।

आन्दोलनमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीसहित गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढासहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालसहितका पदाधिकारीहरु, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेललगायतका व्यवसायीहरु सहभागी थिए ।