रुकुम पूर्वमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

रुकुम पूर्व — भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ५ नम्बर वडाको झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा काम गर्दै गरेका दुई जना मजदुरको ज्यान गएको हो ।

मृत्यु हुनेमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१४, का २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका–५, उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट ल्याइएको थियो । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए ।


घटनामाअन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सब इन्जिनियर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका–५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । लामा कन्स्ट्रक्सनले धाउने–बालुवा–देउखोला सडक खण्डमा आस्फाट कंक्रिटको काम गरिरहेको छ । कन्स्ट्रक्सनकै टिपरले झिङ्गेटारमा लोड गरिएको ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भइ पल्टँदा काम गरिरहेकाहरुलाई किचेको थियो । टिपर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।