सुनाखरी तुलसीपुर सिकाई मेलाको तयारी तिब्र

दाङ, १२ पुष ।
तुलसीपुर उपमहानगरपालिकाले ‘सुनाखरी तुलसीपुर सिकाई मेला’ २०७९ को आयोजना गर्न लागेको छ । तुलसीपुर ७ स्थित माबि कालाखोलामा यहि पुस १४ गते देखि सञ्चालन हुन लागेको छ ।

उपमहानगर भित्रका विभिन्न ८ वटा विद्यालय र उपमहानगरको संयुक्त आयोजनामा तथा टिच फर नेपालको प्राविधिक सहयोगमा एकदिने सुनाखरी तुलसीपुर सिकाई मेला सञ्चालन हुन लागेको उपमहानगरले जनाएको छ । मेलामा ८ वटा विद्यालयका विद्यार्थीले आफुले गरेका परियोजना कार्य समेट्ने र विद्यार्थीहरुलाई ब्यबहारिक सिकाई सिकाउने, विद्यार्थी र शिक्षकलाई विद्यालय भित्र तथा बाहिर शिक्षण सिकाई गर्दा आवश्यक पर्ने ब्यबहारिक ज्ञान प्रदान गर्ने मुख्य उद्देश्य रहेको उपमहानगरले जनाएको छ ।

मेलामा शिक्षण सिकाइका बारेमा नृत्य, गीत, कविताका साथै स्वच्छ खाना, चित्रकला, खेलका स्टलहरु राखिने बताइएको छ । मेलाका विषयमा सोमबार तुलसीपुर उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नगरप्रमुख टीकाराम खड्काले सिकाई मेला २०७५ सालमा समेत आयोजना गरिएको र केही वर्ष कोभिड संक्रमणका कारण आयोजना गर्न समस्या आएकोले नगरिएको बताए ।


उनले अब प्रत्येक वर्ष विद्यालयहरुमा सिकाइ मेला आयोजना गरिने बताए । मेलामा विद्यार्थीहरुले तयार पारेका सामग्रीहरु २० वटा स्टल रहने छन्, भने अन्य २० वटा स्टलमा पेशागत सहायक सामग्रीका रहने बताइएको छ । उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहने बताइएको छ ।