बसपार्क फोहर देख्न नचाहने ‘बुढाथोकी’

दाङ, ११ पुष ।
दाङ तुलसीपुरका ब्यबसायी निमबहादुर बुढाथोकी विहान झिस्मिसेमा कुचो बोक्छन्, अनी पुग्छन् बसपार्क । उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाई गर्छन् । न त उनी बसपार्क सफा गर्ने कर्मचारी नै हो । सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाई गर्छन्। यसरी बसपार्क सरसफाई गर्न लागेको २ बर्ष भयो । तुलसीपुर बसपार्क फोहर थियो । अब्यबस्थित रूपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे ।

त्यसैले पनि उनले सरसफाई गर्न कर्मचारी नै हुनु पर्दैन्, आफै पनि सरसफाई गर्न सकिन्छ, भनेर लागे ।“बसपार्क सरसफाई गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरै फोहर थियो”,उनले भने“त्यसैले उनले सरसफाई गर्न सुरू गरे ।”

आफ्नो फोहर सफा गर्नु पर्छ, भन्ने सन्देश दिन उनले यसरी फोहरलाई सफा गर्न सुरू गरेका हुन् । उनले केही डस्टविनहरू पनि त्यहाँ राखे । सबैलाई त्यही डस्टविनमा फोहर राख्न अनुरोध पनि गरे ।“मैले आफै सधै सफा गर्न सम्भव पनि हुँदैन, म आफै ब्यबसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाई गर्न थालेको हुँ”,उनले भने“यसले बसपार्क सरसफाई गर्न धेरै मद्दत पुगेको थियो । उनी तुलसीपुर बसपार्क स्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन् ।
२०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाई गर्न थालेका थिए । सुरूमा एक्लै सरसफाई गरेपनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरू पनि थपिएपछि झनै सहज भयो ।“६३ हप्तासम्म एक्लै सरसफाई गरेँ”,उनले भने “त्यसपछि केही साथीहरू पनि थपिए ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका युवा राजु विकले भने ।


“पहिले दाई एक्लै सरसफाई गरेको देख्यौं, त्यसपछि हामी पनि सरसफाई गर्नुपर्छ, भनेर लाग्यौं”, उनले भने “हामीले सचेतना फैलाउने हो, यस्तो कार्यमा हामीले पनि सहयोग गुर्नपर्छ, भनेर लागेका हौं ।” बिक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन् । अहिले ५ जनाले प्रत्येक शनिबार बसपार्क सरसफाई गर्दै आएका छन् ।

विगतमा बसपार्क फोहोर हुने गरेको थियो । तर, नियमित सरसफाई गर्ने गरेपछि बसपार्क सफा हुने गरेको यातायात ब्यबसायी टंक विकले बताए । “पहिले निकै फोहोर हुने गथ्र्यो”,उनले भने “अहिले नियमित उनीहरूले सफा गर्न थालेपछि बसपार्कपनि सफा भएको छ ।” स्थानीय सरकारले पनि बसपार्क सरसफाईमा चासो नदिएको अबस्थामा उनीहरूले उदाहरणीय कार्य गरेको भन्दै सबैबाट प्रशंसा हुने गरेको छ । उनीहरूले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउछ । साभारः अग्रिम साप्ताहिक