दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महशुल तिरिदिने

दाङ, १० असार । दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत महशुल तिरिदिने भएको छ । पालिकाले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा उक्त कुरा समावेश गरेको छ । आगामी आर्थिक बर्ष २०८२/०८३ मा पालिकाबासीको न्यूनतम विद्युत महशुल तिरिदिने भएको हो ।

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत महशुल पालिकाले तिरिदिने निर्णय गरेको हो । यसले पालिकाबासीलाई सहुलियत दिने उनको भनाई छ ।“पालिका बासीको मागका आधारमा यो नीति ल्याएका हौं”, अध्यक्ष बस्नेतले भने “यसले सहज बनाउनेछ ।”


यो लुुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम भएको समेत उनले बताए । ‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ भन्ने अभियान स्वरुप उक्त नीति ल्याएको उनले बताए । शान्तिनगर गाउँपालिका भित्रका सम्पूर्ण ग्राहकको न्यून्तम शुल्क गाउँपालिका मार्फत नेपाल विद्युत प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ । यसले सबै नागरिकको उर्जामा पहुँच पुग्ने अपेक्षा लिईएको अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै पालिकाभित्रका चिकित्सा शास्त्र र डाक्टर तथा पाईलट अध्ययन गर्ने विद्यार्थीहरुलाई निश्चित मापदण्डको आधारमा प्रोत्साहन रकम उपलब्ध गराईने, खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण वृद्धि गर्न राष्ट्रिय खेलाडीको रुपमा छनौट हुनेलाई प्रोत्साहन रकम उपलब्ध गराउने गरि बजेट बिनियोजन गरेको छ ।