लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री

बुटवल, १ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा बिशेष ध्यान दिएको बताउनु भएको छ ।

बुटवल उपमहानगरपालिका–१२ मा रहेको मुक्तिनाथ धाममा पुग्नु भएका मुख्यमन्त्री आचार्यले ऐतिहाँसिक महत्त्व बोकेका धाम तथा मठ मन्दिरको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अघि बढ्ने बताउनु भएको हो ।‘प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र हो । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटन संग जोडेर अघि बढेका छौं।’ उहाँले भन्नुभयो ‘लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाई पर्यटन सर्किट मार्फत जोड्छौं ।’


लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको, ठाउँ ठाउँमा हुने पटके जाँचलाइ घटाउने र पर्यटनमैत्री बनाउने योजना सरकारले अघि बढाएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारले यस बर्ष घुमौं बर्दियाको अभियान समेत थाल्ने योजनामा छ । मुख्यमन्त्री आचार्यले धाममा पुजा अर्चना समेत गर्नु भएको थियो ।