मनोरोगीको उपचार र पुर्नस्थापना गर्दै

दाङ, ११ पुष ।
दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छोडेर हिडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्यु पछि उहाँ विरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटोमा हिडिरहेको अबस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्दार ग¥यो । आश्रमले उद्दार गरेर उपचार पछि अहिले उहाँ मानसिक रुपमा स्वस्थ हुँदै जानु भएको छ ।“म घर छोडेर हिडिरहेको अबस्थामा उहाँहरुले देखेर ल्याउनु भएछ, ल्याएको पनि मैले थाहा पाइन”,पुनले भन्नुभयो“अहिले म सबै थाहा पाउने भएकी छु ।”

त्यस्तै तुलसीपुर १२ जसपुर निवासी जयसरा भण्डारी पनि भौतारिएर हिडिरहनु भएको थियो । त्यही क्रममा आश्रमले उद्दार गरेर अहिले एक बर्षदेखि आश्रय दिइरहेको छ । यस्तै थुप्रै मानसिक रोगी,साहाराविहीन, सुस्त मनस्थिति भएकाहरुलाई उद्दार गरेर उपचार तथा पालन पोषण गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख सृजना अधिकारीका अनुसार यसरी वेवारिसे अबस्थामा हिडिरहेकाहरुलाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेस्म्म २० भन्दा बढिलाई उपचार पछि पुर्नस्थापना गरिएको बताउनुभयो । “हामीले ल्याएर उपचार गछौं, खाना, वास दिन्छौं”, उहाँले भन्नुभयो“ सन्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउछौं, सोही अनुसार अहिलेसम्म २०/२२ जनालाई परिवारमा मिलन गरिसकेका छौं ।” पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उहाँको भनाई छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको अधिकारीले बताउनुभयो । ति मध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई २/३ बर्षसम्म पनि सञ्चो नहुँने अबस्था आउने गरेको समेत प्रमुख अधिकारीले बताउनुभयो ।


वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता ब्यक्तीहरुलाई आश्रममा ल्याइदिने गरेको उहाँले बताउनुभयो । उक्त संस्था तुलसीपुरमा गएको बर्ष मंसिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशत सम्म संस्थालाई सहुलियत दिएको भएपनि बाँकी बिभिन्न सहयोगीदाताहरु मार्फत नै सहयोग संकलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख अधिकारीको भनाई छ । अहिले तुलसीपुर शाखामा २ जना केयर गिभर, भने एक जना कुक र दुई जना स्वयंसेवक कार्यरत रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले २ जना नर्स सहयोग गरेको छ । आश्रमको १६ वटा जिल्लामा २३ वटा शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् । साभारः अग्रिम साप्ताहिक