घोराही–तुलसीपुर सडक सहमतिमै रद्द गरिएको हो : शर्मा

दाङ, ३१ साउन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताउनुभयो ।

भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गर्नुभयो । “भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । अनुसन्धान निष्कर्षमा पुर्‍याउने छौँ ।”


मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताउनुभयो । सामाजिक सञ्जाल नियमनका लागि कानूबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उहाँले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गर्नुभयो ।

जिल्लाको विकट क्षेत्रका रुपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । घोराहीतुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उहाँले काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको बताउनुभयो ।

मन्त्री शर्माका अनुसार उक्त सडक मर्मतको लागि काम अगाडि बढेको छ । नयाँ प्रक्रियाबाट सडक निर्माण अगाडि बढ्ने उहाँको भनाइ थियो । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गर्नुभएको थियो ।