तुलसीपुरमा एक युवामाथि मरणासन्न हुने गरि कुटपिट

दीपक बोहरा
दाङ, २ पुस । दाङको तुलसीपुरमा एक युवामाथि मरणासन्न हुने गरि कुटपिट गरिएको छ । शान्तिनगर गाउँपालिका वडा नं.६ निवासी २५ बर्षीय दुर्गा कुँवरमाथि कुटपिट भएको प्रहरीले बताएको छ । विहीबार दिउसो साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित श्रीगैंमा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

श्रीमति दिदीको घर श्रीगै गएको अबस्थामा कुँवर पनि त्यही गए । त्यहाँ गएको बेला विवाद भएको थियो । विवाद भएपछि श्रीमति र उनकी दिदी मिलेर बाहिरबाट चुकुल लगाएर कुँवरलाई भित्र हुले । त्यसपछि केही स्थानीय आएर कुटपिट गरेका थिए । करिब ७ मिनेट सम्म कुटपिट पछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली त्यहाँ पुगेर उद्दार गरेको थियो । प्रहरी पुग्दा उनलाई हातखुट्टा बाँधिएको अबस्थामा रहेको एक स्थानीयले बताए ।

प्रहरीले उनको उद्दार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको थियो । अहिले उनको अबस्था सामान्य छ ।

कसरी भयो घटना ?
६ बर्ष अघि केटा विहे गरेर मलेसिया गए । मलेसिया जाँदा उनकी श्रीमति र श्रीमानबीच दुई बर्षसम्म सम्बन्ध राम्रै थियो । कुराकानी पनि भइरहन्थ्यो । श्रीमानले श्रीमतिलाई पैसा पनि पठाईरहेका थिए । तर, दुई बर्षपछि उनीहरुबीचको सम्बन्धमा दरार आएको थियो ।


पारिवारिक स्रोतका अनुसार सम्बन्धमा ददार आइरहेपछि सम्बन्ध विच्छेद गर्ने भनि कुँवर मलेसियाबाट केही दिन अघि मात्रै घरमा आएका थिए । उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने कुरा थियो । त्यही सल्लाह गर्न उनकी श्रीमतिले दिदीको घर श्रीगैंमा बोलाए । श्रीगैंमा बोलाउँदा उनकी श्रीमति र दिदी सासु थिइन ।

त्यहाँ उनीहरुबीच केहीबेर कुरा पछि विवाद भयो । विवाद भएपछि श्रीमति र दिदी सासुले कुँवरलाई भित्र हुलेर बाहिर चुकुल लगाईदिए । त्यसपछि स्थानीय जनप्रतिनिधि र प्रहरीलाई बोलाए । उनीहरुको विवाद मिलाउन आएका स्थानीयहरु उल्टै त्यो केटामाथि कुटपिट गर्न तम्सिए ।

स्रोतका अनुसार त्यहाँ प्रहरी र जनप्रतिनिधि पनि आएका थिए । तर,ति युवकलाई कुटपिट गर्दा पनि रमिते बनेको हेरिरहेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान थालिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।