अतिक्रमित घर हटाउन के गर्दैछ, तुलसीपुर?

दीपक बोहरा
तुलसीपुर, २६ मंसिर ।
दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० विघा भन्दा बढि जग्गा छ । तर, उपमहानगरपालिकाले भोग चलन भने सीमित जग्गा मात्रै गर्दै आएको छ । अन्य सबै जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गा मात्रै प्रयोग गरेको छ । त्यो बाहेक अधिकांस जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर पूर्व तर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन वटा ठूला पक्की घर निर्माण गरिएको छ ।

उपमहानगरपालिका कार्यालयको कित्ता नं. ५(घ) ८१२ मा त्यसरी अतिक्रमणमा परेको हो । उपमहानगरपालिकाका पाँच वटा कित्ता रहेका छन् । ति मध्ये तुलसीपुर बसपार्कको उत्तर तर्फ आलुमण्डी आसपासको कित्ता नं.५(ख) ५४४ मा १ विघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यहाँ अहिलेसम्म लगत संकलन गर्दा ९७ वटा घर बनेको पाईएको छ । अझै पनि त्यहाँ लगत संकलन कार्य भइरहेको छ ।

त्यस्तै कित्ता नं.५(ख) कै ५४५ मा ३ कठ्ठा जग्गा छ । जहाँ १९ वटा घरहरु बनेका छन् । त्यस्तै कित्ता नं. ५(ख) ५४६ मा ११ कठ्ठा जग्गा छ । जहाँ ३६ वटा घरहरु बनेका छन् । ति मध्ये केही उपमहानगरपालिकाको संरचना रहेपनि अधिकांस जग्गा अतिक्रमणमा परेको छ ।

त्यस्तै कित्ता नं.५(ख)४९९३ मा ५३ हजार ५ सय ६५ बर्गमिटर जग्गा रहेको छ । सोही जग्गामा ४७ वटा घर बनेका छन्, भने अझै सोही कित्तामा लगत संकलन बाँकी रहेकाले निर्माण भएका घरको संख्या धेरै हुन सक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि ब्यबस्थापन शाखा प्रमुख माधव पौडेलले बताउनुभयो ।“हामीले विहानदेखि, साँझसम्म अतिक्रमित जग्गामा बनेका घर टहराको लगत संकलन गर्ने कार्य गरिरहेका छौं, पाँच वटा कित्ता मध्ये तीन वटा कित्ताको लगत संकलन गरिसकेका छौं”,उहाँले भन्नुभयो“अन्य दुईवटा कित्ताको पनि आधाजति काम भइसकेको छ, केही मात्रै बाँकी छ ।” मंसिर १३ देखि आफूहरुले लगत संकलनको काम सुरु गरेको उहाँले बताउनुभयो ।


उहाँले अबको एक हप्तामा लगत संकलन कार्य सकिने समेत बताउनुभयो । लगत संकलन गरेर आफूहरुले कार्यपालिकामा पठाउने उहाँको भनाई छ । कार्यपालिकामा पठाएपछि एक पटक सर्वदलिय, सर्वपक्षिय बैठक बोलाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो ।“लगत संकलन केही दिनमा सकिन्छ, त्यो सकिएमा हामीले एक पटक सर्वदलिय, सर्वपक्षिय बैठक बोलाउछौं”,उहाँले भन्नुभयो“त्यो बैठकले के निष्कर्ष निकाल्छ, त्यही अनुसार हामी अघि बढ्छौं ।”

उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, सूचना प्रकाशित भएको ३५ दिन कटि सक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराईरहेका छन् । तर, आफूहरु नियमित यही कार्यमा लागिरहेको नगरप्रमुख खड्काले बताउनुुभयो । आफ्नो सम्पति संरक्षण गर्नुपर्ने दायित्व भएकाले यो कदम अघि बढाएको उहाँको भनाई छ । ति मध्ये कोही सुकुम्वासी भएमा उनीहरुलाई निश्चित ठाउँमा ब्यबस्थापन गर्ने समेत उहाँले बताउनुभयो । केहीले २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेको भएपनि पछिल्लो समय भाडा पनि नतिरेको पाईएको प्रमुख खड्काले बताउनुभयो ।

सूचना प्रकाशन पनि केही ब्यक्ती कार्यालयमा आएर छुट गरेर भाडा तिर्ने समेत प्रतिबद्धता जनाएको बताए । तर, त्यो पनि अब लगत संकलन पनि टेण्डर मार्फत गर्न सकिने बताए । उपमहानगरपालिकाकै जग्गा कतिपयले किनबेच समेत गरेको पाईएको उहाँले बताउनुभयो । साभारः अग्रिम सापताहिक