अधिकार कार्यान्वयनमा समस्या

तुलसीपुर, २४ मंसिर ।
मानव अधिकारका बारेमा संविधानका उल्लेख भएपनि व्यावहारिक कार्यान्वयनमा भने अझै समस्या देखिएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । जनताले चाहेको जस्तो संविधान निर्माण भएपनि कार्यान्वयन पक्ष फितलो हुनु निकै दु:खपूर्ण कुरा भएको उनीहरुले बताएका हुन् ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तुलसीपुर मेट्रो कलेज, तुलसीपुर उपमहानगरपालिका र मानव अधिकार सञ्जालले संयुक्त रुपमा गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकार कार्यान्वयनका लागि सामाजिक संरचना वदल्न आवश्यक रहेको कुरामा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी केशव शर्माले मानव अधिकारको अवस्था अहिले पनि जटिल भएको बताए । कार्यपालिका सदस्य यमुना परियारले सामान्य जनताहरु आफ्नो अधिकारका बारेमा अनभिज्ञ रहेको कुरामा जोड दिइन् । अधिकारकर्मी नवराज लामिछानेले बाल अधिकारको मुद्दा पेचिलो बन्दै गएको बताउँदै जानेकाहरुबाट नै मानव अधिकार उल्लंघन भएको कुरामा जोड दिए ।


ओरेक नेपालकी कार्यक्रम संयोजक सुलोचना खनालले मानव अधिकार उल्लंघन गर्नेहरुलाई कारबाही हुन नसक्दा समस्या थप जटिल बन्दै गएको बताईन । तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले मानव अधिकार उल्लंघनका घटनाहरु बढ्नुमा सचेत नागरिकहरुको मौनता नै कारण रहेको बताए । महिला अधिकारकर्मी सुष्मा लामिछानेले सामाजिक अवस्थाको परिवर्तन हुन नसक्दा मानव अधिकारको पालना हुन नसकेको बताइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघका सदस्य उमा भण्डारी, मानव अधिकारकर्मी देवा डाँगी, तयार नेपालका श्रमलाल चौधरी, उच्च अदालत तुलसीपुरकी संगिता सुवेदी, विद्यार्थीहरु सुमिक्षा आचार्य, अश्विन विक, पारस ओली लगातयले मन्तव्य राखेका थिए । कार्यक्रमको सुरुवात हुनु पूर्व विभिन्न प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो ।