लुम्बिनीमा दुवै गठबन्धनको पुगेन बहुमत, स्वतन्त्र र साना दलको भर

बुटवल,२२ मंसिर ।
लुम्बिनीको प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र दुवैतर्फको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै, कांग्रेस दोस्रो दल बन्दा माओवादी केन्द्र तेस्रो दल बनेको छ ।

लुम्बिनीमा प्रत्यक्षतर्फ आठ दलले जित निकालेका छन् भने समानुपातिकतर्फ १० दलले सिट पाउने भएका छन् । प्रदेशसभामा तीन जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्र रूपमा निर्वाचित भएकामध्ये एक जना माओवादी केन्द्रबाट टिकट नपाएर बागी उठेका हुन् । उनी माओवादीमै फर्कने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

लुम्बिनी प्रदेशसभामा कुन दलले कति सिट पाए ?
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी कुल ८७ सिट छ । त्यसमध्ये विभिन्न दलहरूले दुवैतर्फ गरी पाएको सिट संख्या यस्तो छः

नेकपा एमाले–प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ११ गरी जम्मा २९
नेपाली कांग्रेस– प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० गरी जम्मा २७
माओवादी केन्द्र– प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ४ गरी जम्मा ९
राप्रपा– प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ २ गरी जम्मा ४
नागरिक उन्मुक्ति पार्टी–प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ २ गरी जम्मा ४
जनमत पार्टी– प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी जम्मा ३
जसपा–प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ १ गरी जम्मा ३
लोसपा–प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ १ गरी जम्मा ३
जनमोर्चा– प्रत्यक्षतर्फ शून्य र समानुपातिकतर्फ १ गरी जम्मा १
नेकपा एस–प्रत्यक्षतर्फ शून्य र समानुपातिकतर्फ १ गरी जम्मा १
प्रत्यक्षतर्फ निर्वाचित भएका स्वतन्त्र उम्मेदवार ३ जना

कस्तो बन्ला गठबन्धन ?
कुल ८७ सदस्यीय प्रदेशसभामा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेका छैनन् । बहुमत पुर्‍याउन न्यूनतम ४४ सिट आवश्यक हुन्छ । तर, कांग्रेस र एमाले नेतृत्वका दुई गठबन्धनमध्ये कुनैले पनि बहुमत पुर्‍याउन सक्ने स्थिति देखिएको छैन । जसका कारण लुम्बिनीमा सरकार निर्माण गर्ने विषय पेचिलो बन्ने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले कुल ४१ सिट पाएका छन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र लोसपाले पाएको कुल सिट जोड्दा पनि गठबन्धनलाई बहुमत पुर्‍याउन ७ सांसद अपुग हुन्छन् । त्यसको जोहो गर्न गठबन्धनका नेताहरू सक्रिय हुन थालेका छन् ।

अर्कातर्फ चुनावी तालमेल गरेका एमाले, जसपा र राप्रपाले कुल ३६ सिट पाएका छन् । उनीहरूलाई सरकार बनाउन थप १२ सांसद जुटाउनुपर्ने अवस्था छ ।


दुवै गठबन्धनले बहुमत पुर्‍याउन नसकेको अवस्थामा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । दुवै पक्षले सरकार गठनको आन्तरिक तयारी गरेका छन् । तर, निर्णायक भनिएका यी पार्टीहरूले सरकार गठनका सम्बन्धमा स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन् ।

अर्कातर्फ केन्द्रमा कस्तो गठबन्धन बन्छ त्यसैका आधारमा लुम्बिनीमा गठबन्धन बन्ने देखिएको छ । यसको सोझो अर्थ के हो, भने संघीय सरकार कसरी बन्छ, त्यसले लुम्बिनीको सरकार कस्तो बन्छ भन्ने तस्वीर दिने देखिन्छ । तर, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदसमेतलाई विश्वासमा लिएर सत्ता गठबन्धनले बहुमत जुटाउने धेरैको अपेक्षा छ ।

को–को छन् मुख्यमन्त्रीको दौडमा ?
कांग्रेस, एमाले र माओवादी केन्द्र तीनै दलका नेताहरू मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन् । त्यसको लागि नेताहरूले आन्तरिक तयारी र लबिङ सुरु गरिसकेका छन् ।

एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए लीला गिरी मुख्यमन्त्री बन्ने सम्भवना बढी छ । एमालेले गिरीलाई बनाउने गरी चुनावी मैदानमा उतारेको थियो । गिरीले सहजै जित निकाले । एमालेको नेतृत्वमा सरकार बनेमा उनै मुख्यमन्त्री बन्ने एमालेले जनाएको छ ।

तर, शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका गिरी सबैभन्दा कम कार्यसम्पादन गर्ने मन्त्रीको रूपमा रहेका थिए । सात जना मन्त्रीमा उनको नाम सातौँ स्थानमा थियो । गिरी विष्णु पौडेलनिकट छन् । उनीसँगै अघिल्लो कार्यकालमा नेकपा एमाले संसदीय दल लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीका लागि दाबेदार छन् । शंकर पोखरेलको टिमबाट ढकाललाई मुख्यमन्त्रीको रूपमा बल पुग्नेछ ।

कांग्रेसले मुख्यमन्त्री पाएमा कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक र पूर्वप्रदेशमन्त्री डिल्ली चौधरीमध्ये एक मुख्यमन्त्रीको दाबेदार रहनेछन् । यसमा रज्जाकको सम्भावना बलियो छ । यहाँ मुख्यमन्त्रीका प्रमुख दाबेदार रहेका कांग्रेस लुम्बिनी सभापति अमर पुन पराजित भएसँगै रज्जाकको सम्भावना बलियो बनेको हो ।

यस्तै, माओवादीले मुख्यमन्त्री पाएको खण्डमा रोल्पा १ (१) बाट विजयी भएका जोख बहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना बढी छ ।