सस्कृत विश्वविद्यालयका उपकुलपतिको आवासमा तोडफोड

दीपक बोहरा
तुलसीपुर,१८ मंसिर ।
दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादव प्रसाद लामिछानेको आवासगृहमा तोडफोड भएको छ । केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह(विएएमएस) अध्ययनरत विद्यार्थीहरुले आईतबार तोडफोड गरेका हुन् । तोडफोडबाट आवासगृहको सिसाको झ्याल, ढोका फुटेका छन्, भने गाडीमा पनि क्षति भएको छ ।

विएएमएसकालागि ५१ जना प्राध्यापक आबश्यक पर्ने भएपनि अहिले ५/७ जना मात्रै प्राध्यापक मात्रै रहेकाले आफ्नो पढाई प्रभाबित भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । सीमित प्राध्यापक हँदा नियमित पढाई पनि नभएको र एउटा प्राध्यापकले आफ्नो विषय भन्दा बाहिरको विषय पढाउँदा गुण्स्तर पनि निकै कमजोर रहेको भन्दै यसलाई सुधार गर्न माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।“अहिले ११ ब्याजसम्मको पढाई भइरहेको छ, तर, अहिलेसम्म पनि सीमिति शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर, हाम्रो पढाई एकदम कमजोर छ”, विद्यार्थी अभय प्रताप चौहान भन्नुभयो“त्यसैले हामी आन्दोलित भएका हौं ।”

विद्यार्थीहरुले आईतबार विश्वविद्यालयको केन्द्रीय कार्यालय केन्द्रीय आयुर्वेद विद्यापीठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा पनि तालाबन्दी गरेका छन् । आफू पढ्नलाई भनेर कैलालीबाट आएको भएपनि यहाँको पढाई निकै कमजोर रहेको चौहानको भनाई छ । एउटा प्राध्यापकले १२ वटा पिरिएड पढाउनु पर्नेमा २५/३० वटा पिरिएड पढाउनु पर्ने अबस्था रहेको छ ।

त्यस्तै झापाबाट विएएमएस पढ्न आउनु भएका प्रदिप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताउनुभयो ।“प्राध्यापकले आफ्नो विषय भन्दा बाहिरको विषय पढाउनु हुन्छ, त्यो पनि पढाईले गुण्स्तर सिकाई भएकोे छैन”,उहाँले भन्नुभयो“एक हप्तादेखि हामीहरु कलेज नै गएका छैनौं ।” उहाँ ९ औं ब्याजको विद्यार्थी हुनुहुन्छ ।


त्यस्तै कैलालीकी रिया भण्डारी गएको भदौमा ११ औं ब्याजको रुपमा आउनु भयो । तर, उहाँले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषयहरु पढाई नै भएका छैनन् ।“म पहिलो दिन एड्मिशन हुँदा नै आन्दोलनको फेश गर्नु परेको थियो”,उहाँले भन्नुभयो“ चिफ सरको एउटा कलास छ, त्यो कलास एक दिन भयो, त्यसपछि उहाँ कलासमा नै आउनु भएको छैन ।” पदार्थ विज्ञान एक दिन मात्रै पढाई भएको उहाँले बताउनुभयो ।

त्यस्तै तीन वटा विषयको अहिलेसम्म पढाई नै सुरु भएको छैन । अहिले संस्कृतका केही कक्षाहरु मात्रै चलिरहेको भन्दै यस्तो पाराले सिकाई प्रभाबकारी नहुँने उहाँको भनाई छ ।“हामीलाई अहिले संस्कृत मात्रै घोकाई रहनुभएको छ, यस्तो पाराले हामी कसरी डाक्टर बन्ने हो”, उहाँले भन्नुभयो“घोकेर पछि विरामीलाई हामीले कसरी उपचार गर्ने, निकै गाह्रो भएको छ ।” पहिलो पास भएर गएका डाक्टरहरुले पनि एउटा सिरिञ्ज समेत लगाउन नजान्ने गरेको उहाँको भनाई थियो ।

त्यस्तै विद्यार्थीहरुले प्रयोगात्मककालागि ओपीडीको पनि माग गरेका छन् । अहिलेसम्म ओपीडी नहुदा विद्यार्थीहरु कहिल्यै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नु पर्ने अबस्था छ, भने कहिल्यै प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी जानुपर्ने अबस्था रहेको छ । डाक्टर पढाउने क्याम्पसको एउटा ओपीडी नहुँनु दुःखद कुरा भएको भन्दै यो समस्या पनि तत्काल समाधान गर्न विद्यार्थीहरुको माग रहेको छ । प्रयोगात्मक नहुदा पास भएर गएपनि विरामीहरुलाई सहज उपचार दिन नसकिने भन्दै क्याम्पसमै प्रयोगात्मकको सहज ब्यबस्थापन हुन आबश्यक रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुले तत्काल यो समस्या समाधान नगरेर आन्दोलनलाई जारी राख्ने समेत बताएका छन् ।

उपकुलपति लामिछानेले भने यो समस्या समाधान गर्न प्रयत्न गरिरहेको बताउनुभयो । विद्यार्थीहरुले पढ्न पाउनु पर्ने भन्दै गरेको आन्दोलन सकारात्मक भएपनि ढुंगा, मुडा गर्ने अबस्थाको भने उहाँले निन्दा गर्नुभयो ।“विद्यार्थीहरुले शिक्षक पाऊ भनि गरेको माग जायज छ”,उहाँले भन्नुभयो“तर, यसरी आक्रमण गर्ने, ढुंगामुडा गर्नु भने दुःखद हो ।”

२०७८ चैत १६ गते शिक्षककालागि विज्ञापन खोलेको भएपनि तत्काल निर्वाचन आचरसंहिता लागेका कारण त्यो प्रक्रिया अघि नबढाउन सरकारले निर्देशन दिएपछि कार्य अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो ।“आयुर्वेदकालागि हामीले १४ जना शिक्षकको माग गरेका थियौं”,उहाँले भन्नुभयो“तर,त्यतिबेला आचारसंहिताले गर्दा काम अगाडी नबढाउन निर्देशन आएपछि हामीले काम अगाडी बढाउन सकेका छैनौं ।” अहिले बिषयसंग सम्बन्धित शिक्षकहरु नपाईने समस्या पनि रहेको उहाँले बताउनुभयो ।