राप्ती गाउँपालिका अध्यक्षले दिए मंसिरको तलब सहकारीलाई

दाङ,१४ मंसिर । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्वको अभियान’भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियान राप्ती गाउँपालिकामा पनि बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईएको छ ।

राप्ती गाउँपालिकाको आयोजना तथा भृकुटी महिला बिकास सहकारी संस्था राप्ती–३ मसुरिया तथा लक्ष्मी महिला बिकास सहकारी संस्था लिराप्ती ८ पिपरिको सहकार्य एवं ईलाका प्रहरी कार्यालय भालुवाङको समन्वयमा अन्तरक्रियात्मक कार्यक्रम भएको हो ।

राप्ती गाउँपालिकाको सभाहल तथा राप्ती ८ पिपरीमा अन्तरक्रियात्मक कार्यक्रम भएको हो । राप्ती गाउँपालिकाको सभाहलमा भएको कार्यक्रम राप्ती गाउँपालिकाका उपाध्यक्ष श्री कमलापती चौधरीको अध्यक्षता एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको बताए । त्यसका लागि महिला संघ संस्थाको अह्म भूमिका रहनु पर्ने बताए ।


पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन पनि रहेकोले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्ने बताए । कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरीले समाजमा सचेतना फैलाउन आग्रह गर्दै शिक्षाको माध्यम र सचेतना बाट यसलाई नियन्त्रण गर्न सकिने बताइन् । कार्यक्रममा शिक्षा शाखा प्रमुख बिश्वास बिक, मोटिभेसनल स्पिकर राजन अधिकारी,भृकुटी महिला बिकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने,पत्रकार महेश रिजाल लगायतले आ–आफ्नो बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले लैङ्गिक हिंसा बिरुद्वमा सचेतना जगाउन आफूले पाउने मंसिर महिनाको सेवा सुबिधाबाट प्रति सहकारी १५ हजारका दरले ३० हजार रकमको चेक समेत हस्तान्तरण गरेका थिए । कार्यक्रमको संहजीकरण भृकुटी महिला बिकास संस्थाका प्रमेश्वरी ज्ञवालीले गरेकी थिइन् ।