२३ औं स्थापना दिवसका अवसरमा रक्तदान

दाङ,३१ साउन ।
राप्ती बहिरा संघले आफ्नो २३ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ । संघले तुलसीपुरमा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेर संस्थाको स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा २ जना अभिभावक र ११ जना अपांगता भएका व्यक्तिहरुसँगै १३ जनाले कार्यक्रममा रक्तदान गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले सस्थाले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेर ठुलो मानवीय सेवाको कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

स्थापना दिवस राप्ती बहिरा संघ दाङका अध्यक्ष रीता चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष देवा डाँगी, राष्ट्रिय अपांग महासंघ लुम्विनी प्रदेश कोषाध्यक्ष तथा राप्ती बहिरा संघका सस्थापक अध्यक्ष अजयकुमार शर्मा, अपांग समाज सुधार केन्द्रका सस्थापक अध्यक्ष हुमाकान्त कडेल, अपांग समन्वय समिति तुलसीपुरकी संयोजक तिलसरा पुन, अपांग समन्वय समिति शान्तिनगर गाउँपालिका संयोजक नीमबहादुर नेपालीलगायतले स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


राप्ती बहिरा संघका कोषाध्यक्ष बिजय वलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका कार्यक्रम सहजकर्ता बसन्ती वलीले गरेकी थिइन । कार्यक्रममा स्मृति योगीले दोभासे गरेकी थिइन । स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।