स्वतन्त्र पार्टीका सुवेदीको चुनावी खर्च ८ लाख १ हजार

तुलसीपुर,१४ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमल सुवेदीले चुनाबमा ८ लाख खर्च गरेको बताएका छन् । तुलसीपुरमा बुधबार पत्रकार सम्मेलन गरि उनले ८ लाख १ हजार खर्च गरेको बताएका हुन् । साथै उनले निर्वाचनको समयमा मतदाताहरुले पनि पैसा माग्ने गरेको बताएका छन् । “हामीले निर्वाचन आयोगले तोकेको खर्च सीमा भन्दा पनि कम खर्च गरेका छौं”,उनले भने“मतदाताले नै मसंग यति भोट छन्, पैसा चाहियो भन्दै फोन गर्ने पनि गर्नुहुन्छ, चुनाबमा यसले विकृति भित्र्याएको छ ।”

आफूले ३ लाख ३ हजार ६५७ रुपैयाँ सुभेच्छुकहरुको सहयोगबाट र ४ लाख ९७ हजार ७२४ व्यक्तिगत रकम खर्च भएको उनले बताए । प्रिन्टिङ  (भिजिटिङ कार्ड, स्टिकर, व्यानर, बाचापत्र, झण्डा, नमूना मतपत्र छपाई) मा २ लाख ७० हजार ८२४ रुपैयाँ खर्च भएको छ । त्यसैगरी यातायात तर्फ १ लाख ९५ हजार, चिया खाजा खानामा १ लाख ८४ हजार ४ सय, फेसबुक बुस्ट २० हजार, डिजे, डेक स्पिकरमा ८६ हजार ५०० सय, निर्वाचन सम्पर्क कार्यालय भाडा (तुलसीपुर, रगैचा, हापुरे) १८ हजार ५ सय र अन्य मसलन्द एवं प्रशासनिक खर्च रु २६ हजार ५ सय गरी ८ लाख १ हजार ७२४ रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिए । उक्त अवसरमा सुवेदीले आफुलाई चुनावी अभियानमा आर्थिक, भौतिक, एवं नैतिक रुपमा सहयोग गर्ने सुभेच्छुकसहित मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मंसिर ४ गते भएको निर्वाचनमा सुवेदीले १५ हजार ३२६ मत प्राप्त गरेका थिए ।


अमेरिकी स्वतन्त्र पार्टी र हाम्रो बीच फरक छ
उनले अमेरिकी स्वतन्त्र पार्टीको चिन्ह र नाम मिल्न गएपनि उद्देश्य फरक रहेको बताएका छन् । पार्टीले अहिले जुन मत प्राप्त गरेको छ, त्यो पार्टी नेतृत्व, पार्टीको लोकपृयता तथा जनताले विकल्प खोजी रहेकाको परिणाम रहेको समेत उनको भनाई छ । उनले आगामी ५ बर्षमा दाङमै रहेर जनताको सेवा गर्ने समेत बताएका छन् ।