राप्तीले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच सुरु गर्ने

देउखुरी, २६ पुस ।
राप्ती गाउँपालिका दाङले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नापजाँच सुरु गर्ने भएको छ । पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नापजाँचको कार्य सुरु गर्ने पालिकाले जनाएको छ ।

पालिकामा रहेका २ सय २० भूमिहिन दलित, ५ सय ६० भूमिहिन सुकुम्बासी र ३ हजार ७ सय ५२ अव्यवस्थित बसोबासी गरी ४ हजार ५ सय ३२ जनाको तथ्याङक प्रविष्ट भइसकेकोले अब नापजाँचको कार्य अगाडी बढाउने तयारी भएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी गराउनुभयो ।

राष्ट्रिय भूमि आयोग दाङका पदाधिकारी र गाउँ कार्यपालिकाको बीच मंगलबार पालिकामा भएको अन्र्तक्रियावाट नापजाँचको कार्य अगाडी बढाउने सहमति भएको छ । पालिका अध्यक्ष विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले आयोगले विगतका अधुरा कार्यका फाइलहरु अध्ययन गरिरहेको बताउनुभयो ।


निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकाम नापजाँचको कार्य अगाडी बढाउने र छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पु¥याउने गरी आयोग अगाडी बढेको बताउनु भयो । नापजाँचको कार्य अगाडी बढाउनका लागि सर्वेक्षक डिल्ली प्रकाश हमाललाई पालिकामा खटाएको आयोगले जनाएको छ ।

कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरी, सदस्य गोविन्द रेग्मी, पालिकाका उपाध्यक्ष कमलापति चौधरी, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो । पालिकाको भूमिहिन सुकुम्बासीको अवस्थावारे पालिकाका भूमि सेवा केन्द्र प्रमुख बालचन्द्र गुरुङले जानकारी गराउनुभएको थियो ।