राप्ती र बबईमा १३ किलोमिटर बढि तटबन्धमा क्षति

तुलसीपुर,१३ मंसिर ।
गएको बर्षादले राप्ती र बबई नदीले पु¥याएको क्षतिको विवरण संकलन गरिएको छ । जनताको तटबन्ध लमही कार्यालयले बबई नदी र राप्ती नदीको बाढीले १३.७ किलोमिटर क्षेत्रफलमा क्षति बनाएको बताएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर रमानन्द दासका अनुसार यी दुईवटै ठूला नदीले कटान गरेको स्थानमा तटबन्ध नगरे अर्को बर्ष ठूलो क्षति हुनसक्छ ।“हामीले गएको बर्षादले तटबन्धमा गरेको क्षतिको विवरण निकालेका छौं”,उहाँले भन्नुभयो“जहाँ १३.७ किलोमिटर क्षेत्रफलमा क्षति भएको छ, यदि त्यो क्षेत्रमा यो बर्ष नै तटबन्ध नगरे अर्को बर्ष बाढीले ठूलो क्षति गर्छ ।”

क्षति भएको क्षेत्रको विवरण विभाग मार्फत उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पठाई सकेको समेत उहाँले बताउनुभयो । अहिले तटबन्धकालागि उल्लेख्य बजेट नभएकाले मन्त्रालयमा माग गरिएको उहाँको भनाई छ । त्यो क्षेत्रमा टटबन्ध गर्न करिब १ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यस्तै सहायक नदीहरुमा पनि बिभिन्न स्थानमा क्षति भएको छ ।


उहाँका अनुसार राप्ती नदीले दाङको राप्ती, गढवा राजपुर गाउँपालिका, लमही नगरपालिकासहित बाँकेको नरैनापुर,राप्ती सोनारीलगायतका गाउँपालिकामा क्षति पु¥याएको छ । त्यस्तै बबई नदीले तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ११,१२, १३, १४ सहित दंगीशरण, शान्तिनगर, बबई गाउँपालिकामा क्षति पु¥याएको छ । जनताको तटबन्धले राप्ती र बबई नदीमा तटबन्ध निर्माण गर्ने काम गर्छ ।