विद्यालय द्वारा स्वागत तथा सम्मान कार्यक्रम

निराश पान्डे
शान्तिनगर, १६ जेठ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर २ स्थित बालकल्याण आधारभुत विद्यालय पेदाले आज एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित शान्तिनगर गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष र वडा बाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गरेको छ। विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन राज खत्रीको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा के.सी र २ नम्बर वडाका अध्यक्ष सुनिल ओलिको विशिष्ट आतिथ्यतामा भएको सम्मान कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा र टीका लगाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओपेन्द्र के.सी ले विद्यालयको भौतिक संरचना जिर्ण भइ पठनपाठनमा गार्‍हो भएको हुदा आउदो बजेट विनियोजनमा आफ्नो विद्यालयलाई प्राथमिकता दिन अध्यक्ष बस्नेतको ध्यानाकर्षण गराएका थिए। प्रमुख अतिथी बस्नेतले आफुले शिक्षा , स्वास्थ्य र सडकलाई पहिलो प्राथमिकता दिने बताउदै ऐन नियमको परिधिभित्र रहि विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष बस्नेतले शिक्षा क्षेत्र सुधारका लागि आफू कटिबद्ध रहेको समेत बताएका छन् ।

साथै अध्यक्ष बस्नेतले आजै बालकल्याण आधारभूत विद्यालय पेदाले संचालनमा ल्याउन लागेको आइ टि कक्षाको समेत उद्घाटन गरेका थिए । यसै आजनै शान्तिनगर गाउँपालिका वडा नम्बर ५ स्थित आदर्श माध्यमिक विद्यालय कासिपुरले पनि एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गरेको छ।