राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई घोराही उपमहानगरपालिकाद्वारा सम्मान

घोराही,३० साउन ।

घोराही उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान गरेको छ। स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको योगदान, जनस्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रतिष्ठानलाई सम्मान–पत्र प्रदान गरिएको हो।


सम्मान–पत्रमा प्रतिष्ठानले स्वास्थ्य सेवामा पुर्‍याएको अमूल्य योगदान, निरन्तर सहकार्य तथा जनस्वास्थ्य प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय भूमिकाको प्रशंसा गरिएको छ। साथै, स्वास्थ्य सेवाका क्षेत्रमा संस्थाले देखाएको सेवाभाव, जिम्मेवारीबोध, सक्रिय सहभागिता र सहकार्यात्मक प्रतिबद्धता प्रशंसनीय एवं अनुकरणीय रहेको जनाइएको छ।

समुदायको स्वास्थ्य तथा समयमै स्वास्थ्य प्रणालीको सुदृढीकरणमा प्रतिष्ठानले पुर्‍याएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत सक्रिय भूमिका र सहकार्यको अपेक्षा गरिएको छ।
घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले प्रतिष्ठानलाई प्रदान गरेको सम्मान–पत्रमा शाखा प्रमुख राधा पौडेल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद भुसाल, नगर उप–प्रमुख हुमा कुमारी डिसी र नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गर्नुभएको छ।